रौतहट, २० चैत्र । जिल्लाको विभिन्न परीक्षा केन्द्रबाट परीक्षामा अमर्यादित कार्य गर्दै गरेको अभियोगमा पक्राउ पर्नेको सङ्ख्या १२ पुगेको छ । चैत्र १५ गते देखि शुरू भएको माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागी भएका परीक्षार्थीलाई चिट चोरी गराउने आरोपमा परीक्षा केन्द्रमा खटिएका १२ जनालाई नियन्त्रणमा लिइएको हो।
मंगलवार रौतहट जिल्लाको मौलापुर नगरपालिका अन्तर्गत प्राथमिक विद्यालय गम्हरियामा कार्यरत शिक्षक राम अमोद प्रसाद यादवलाई परीक्षा अनुगमन टोलीले मोबाइल मार्फत चिट चोरी गराउँदै गरेको अवस्था पक्राउ गरेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख राम विनय सिंहले बताए । सञ्चालन रहेको एस ई ई परीक्षालाई मर्यादित बनाउने उद्देश्यले नियमित रूपमा परीक्षा अनुगमनको क्रममा अनुगमन टोलीले विभिन्न ३१ परीक्षा केन्द्रबाट अहिले १ हजार ७ सय थान मोबाइल बरामद गरिएको जिल्ला स्तरीय परीक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए।
परीक्षा हलबाट चेकजाँच गर्ने क्रममा बरामद गरिएको मोबाइल तथा चिट चोराउने कार्य गर्ने आरोपमा पक्राउ परेका माथि थप अनुसन्धान गरी क़ानूनी कार्यवाही गर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।