बुधबार १२ बैशाख, २०८१

नेपाली समय

हिउँ रहे पो हिमालचुली !

हिउँ रहे पो हिमालचुली !

(रामबहादुर थापा)

गण्डकी, १९ चैत । “जाडोको खासै महसुस गर्न नपाई हिउँद बित्यो”, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका डमबहादुर पुनले भन्नुभयो, “पोहोर र अहिले घोरेपानी–पुनहिलमा हिउँ नै परेन ।” ३२ सय १० मिटर उचाइको पुनहिल केही वर्षअघिसम्म हिउँले छपक्कै ढाकिने गरेको उहाँले सुनाउनुभयो । पुनहिलबाट आँखैअघि देखिने हिउँचुचुरा पनि पहिले झैँ सेताम्मे देखिन छाडेको पुनको भनाइ छ । 

“हिउँदमा हल्काफुल्का हिउँले ढाकेपनि वर्षात्मा त हिमाल पनि फुस्रा र काला देखिन्छन्”, ७० वर्षीय उहाँले भन्नुभयो, “हामीले हेर्दाहेर्दै हिमालबाट हिउँ घटिरहेको छ, यसरी हिउँ निथ्रिदै गए हिमाल कसरी जोगिएलान् र ? हिउँबिनाको हिमाल के हिमाल !” पुनले भने झैँ हिउँ छ र पो हिमालहरु छन् । हिउँबिना त ति केबल नाङ्गा र उजाड कालापत्थर न हुन् । 

पर्यटन व्यवसायी जुली पुनका भनाइमा हावापानीमा आएको फेरबदलले घोरेपानी–पुनहिलको पर्यटन क्षेत्रलाई पनि असर पु¥याइरहेको छ । “केही दिनयता तुँवालो मडारिएर हिमाल खुलेको छैन, दोस्रो मुख्य पर्यटकीय याम भएर पनि पर्यटकीय चहलपहल कम छ”, उहाँले भन्नुभयो, “पहिले पहिले हिउँ खेल्न पर्यटक आउँथे, पछिल्लो समय हिउँ पनि पर्न छोड्यो, फासफुस परिहाल्यो भने पनि उतिखेरै बिलाउँछ ।”

स्वच्छ र शान्त वातावरणमा हिमाल नियाल्न पर्यटक पुनहिल आउने गरेको जुलीले बताउनुभयो । “विश्वका दस अग्ला हिमालमध्येमा पर्ने अन्नपूर्ण, धवलागिरि, मनाश्लुलगायत एकैसाथ दर्जनौँ हिमाल यहाँबाट देख्न सकिन्छ, घारेपानी–पुनहिलको पर्यटन नै प्रकृति र हिमालका कारण टिकेको छ”, उहाँले भन्नुभयो, “हिमालको सौन्दर्य र शोभा हराउँदै गए त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा पनि पर्छ ।” 

जलवायु विज्ञ डा बिमल रेग्मीले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा सङ्कट गहिरिँदै गएको बताउनुभयो । अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमालहरु कालापत्थरमा परिणत हुने उहाँको भनाइ छ । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्दा पनि यही शताब्दीको अन्त्यसम्ममा हिन्दुकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड)को अध्ययनले देखाएको डा रेग्मीले बताउनुभयो । 

“अहिले नै विश्वव्यापी तापक्रम १.१ डिग्री सेल्सियसले वृद्धि भएकामा पृथ्वीको तापमान दुई डिग्रीले बढ्ने हो भने हिमालय क्षेत्रको आधा हिउँ सकिने उक्त अध्ययनको निचोड छ”, डा रेग्मीले भन्नुभयो, “हरित ग्यास उत्सर्जनलाई नियन्त्रण गर्न विश्वले कदम उपयुक्त नचाल्ने हो भने हिमालय क्षेत्रमा गम्भीर सङ्कट निम्तने खतरा छ, कुनै दिन हिमालको अस्तित्व नै नासिन सक्छ ।”

उहाँका अनुसार सन् २०१५ मा भएको पेरिस सम्झौतामा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धीका पक्ष राष्ट्रहरुले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्ने र २ डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरेका थिए । पृथ्वीको तापमान बढ्नुको मुख्य कारण हरित ग्याँसको उत्सर्जन रहेको डा रेग्मीको भनाइ छ । “कार्बनडाइअक्साइड, मिथेन जस्ता मानवउत्सर्जित हरितगृह ग्यासले सूर्यको तापक्रम सोसेर राख्ने हुँदा पृथ्वीको तापक्रम बढ्छ”, उहाँले भन्नुभयो, “विश्वव्यापी तापमान वृद्धिका कारण निम्तिएको जलवायु सङ्कटको ठूलो मार हिमालय क्षेत्रमा परिरहेको छ ।”

हिमालय क्षेत्रको तापक्रम अन्य क्षेत्रको भन्दा पाँच गुणा बढी अर्थात् बर्सेनि ०.००६ प्रतिशतले बढिरहेको डा रेग्मीले बताउनुभयो । “जलवायुजन्य प्रकोपका घटना हिमालय क्षेत्रमा बढी भइरहेका छन्, हिउँ पुग्लेर हिमताल बन्ने क्रम बढ्दो छ, हिमनदी सुक्दै गएका छन्, हिमालको पारिस्थितिकीय प्रणालीमा उथलपुथल भइरहेको छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण पानीको चक्र फेरिएको छ, मनसुन ढिलो हुने, हिउँ नपर्ने, कुनैबेला हाँडीघोप्टे वर्षा हुने जस्ता समस्या देखिइरहेका छन् ।”

डा रेग्मीले हिमालबाट हिउँ हराउँदै गएमा पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्ने बताउनुभयो । हिमालय क्षेत्र दक्षिण एसियाका झण्डै दुई अर्ब मानिसको पानीको स्रोत रहेको उहाँको भनाइ छ । “हिमालमा हिउँ नरहे, नदीका स्रोत सुक्छन्, त्यसले तल्लो तटीय क्षेत्रका बासिन्दाको जीविकोपार्जनदेखि खानेपानी, सिँचाइ, कृषि आदिमा भयानक सङ्कट निम्तिन्छ”, डा रेग्मीले भन्नुभयो ।

जलवायुजन्य घटना र हानीनोक्सानीका कारण नेपालको कुल ग्राहस्थ उत्पादनमा वार्षिक दुई दशमलव पाँच प्रतिशतले ह्रास आइरहेको डा रेग्मीले बताउनुभयो । “यो शताब्दीको अन्त्यसम्ममा १० देखि १२ प्रतिशतसम्म ह्रास हुने वन तथा वातावरण मन्त्रालयको अध्ययनले देखाएको छ”, उहाँले भन्नुभयो । डा रेग्मीले प्राकृतिक स्रोतमाथिको मानवीय अतिक्रमणका कारण विश्वले जलवायु सङ्कटको सामना गरिरहेको बताउनुभयो ।

“हाम्रो पूर्वाधार विकास जलवायु र वातावरणमैत्री छैन, विकासको लगानी सुरक्षित छैन, विनाशकारी विकासले पु¥याएको असर भयाभह छ”, उहाँले भन्नुभयो, “जलवायु सङ्कटसँग जुध्न सरकारले छुट्टै संस्थागत संरचना खडा गर्नुपर्छ, नीति र कानुनको प्रभावकारी कार्यान्वयनको खाँचो छ ।” जलवायु न्यायको विषय रहेको भन्दै उहाँले पर्यावरण संरक्षणमा अन्तर्राष्ट्रिय स्रोत जुटाउन सरकारले पहल लिनुपर्ने बताउनुभयो ।  “अन्तर्राष्ट्रियस्तरका जलवायु तथा वातावरण कोषमा नेपालले पहुँच पु¥याउनु आवश्यक छ, जलवायुको विषयलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा मूल प्रवाहीकरण गर्नुपर्छ”, उहाँले भन्नुभयो । विकसित देशका कारण नेपालले जलवायु सङ्कटको सामान गरिरहनुपरेको डा रेग्मीको भनाइ छ । 

संरक्षणविद् डा घनश्याम गुरुङले पृथ्वीको तापक्रम वृद्धि र धुवाँधूलोका कारण हिमाल पग्लिरहेको बताउनुभयो । “हिमालहरु यसरी नै पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र यससँग अनुकूलन हुनुको विकल्प हामीसँग छैन ।” पृथ्वीको बढ्दो तापमानलाई रोक्न स्वच्छ उर्जाको प्रयोग बढाउनुपर्ने उहाँको भनाइ छ । 

डा गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नभए पनि जलवायु परिवर्तनको विश्वव्यापी असरबाट बच्न स्थानीय तवरबाटै योजना बनाउनुपर्ने धारणा राख्नुभयो । “जलवायु परिर्तनमा विकसित देशको मात्र दोष छ, नेपालको केही भूमिका छैन भनेर हामी चुप लागेर बस्नुहुँदैन”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायमा आवाज उठाउन पनि हामीसँग नैतिक धरातल चाहिन्छ ।”

नेपालले खनिज तेलको खपत घटाएर स्वच्छ उर्जाको प्रयोगलाई बढाउनुपर्ने उहाँको भनाइ छ । जीविकोपार्जन तथा बसाइसराइँविद् डा अमिना महर्जनले जलवायु परिवर्तनले नेपालमा मात्र नभएर सिङ्गो हिन्दुकुश क्षेत्रकै हिमालहरु सुख्खा बन्दै गएको बताउनुभयो । “जलवायु परिवर्तनले पर्यावरण, कृषि, पर्यटन, स्वास्थ्यलगायत यावत क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष असर पु¥याइरहेको छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको प्रभाव अझ बढ्दै जान्छ, घट्दैन तसर्थ यससँग अनुकूलन हुनुबाहेक अर्को विकल्प छैन ।”

पृथ्वीको तापमान वृद्धि हुँदै जानुमा नेपालको कुनै भूमिका नभएपनि यसको परिणाम भने भोग्नुपरिरहेको डा महर्जनले बताउनुभयो । केही महिनाअघि मुस्ताङको कागबेनीमा आएको बाढी, सन् २०१२ मा हिमपहिरोका कारण सेती नदीमा आएको बाढी त्यसकै उदाहरण भएको उहाँले बताउनुभयो । “जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रभावबारे कम बहस हुने गरेको छ, खासै अनुसन्धान पनि भएको छैन”, डा महर्जनले भन्नुभयो, “नयाँनयाँ जनस्वास्थ्यका समस्या निम्तिरहेका छन्, रोग विस्तार भएका छन् ।” 

उहाँले जलवायु अनुकूलन योजनाका लागि सरकार र अन्तर्राष्ट्रिय क्षेत्रबाट न्यून मात्र मद्दत आउने गरेको उल्लेख गर्नुभयो । “जति प्रयास स्थानीय समुदायबाट भएको छ, सरकारबाट त्यति हुन सकेको छैन, ‘लस एण्ड ड्यामेज फण्ड’का लागि पनि नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्छ”, डा महर्जनले भन्नुभयो । जलवायु परिवर्तन र खाद्य सुरक्षामा अनुसन्धानरत डा जगन्नाथ अधिकारीले हिमालको सम्बन्ध नेपाली संस्कृतिसँग पनि जोडिएको बताउनुभयो । 

“बिहानै हिमाल हेर्यो भने दिन पवित्र हुन्छ भन्ने मान्यता छ, विभिन्न देवीदेउताका नामबाट पनि हिमाललाई पुकारिन्छ”, उहाँले भन्नुभयो, “हिमालय क्षेत्र मानिसको जनजीवन र संस्कृतिसँग प्रत्यक्ष जोडिएको छ, हिउँ नरहे हाम्रा सांस्कृतिक परम्परा पनि हराउन सक्छन् ।” हिउँ पग्लँदै गएपछि पोखराबाट देखिने हिमालको सुन्दरता पनि विस्तारै खस्कँदै गएको डा अधिकारीले बताउनुभयो । 

हावापानीमा आएको परिवर्तनका कारण कृषि उत्पादन कम हुने, बालीनालीमा रोगकिराले सताउने जस्ता समस्या बढी रहेको उहाँले बताउनुभयो । “कृषि उत्पादन घट्दा खाद्य सुरक्षामा पनि असर पुग्छ, मुस्ताङ, मनाङ जस्ता हिमाली जिल्लामा त हिउँ नपरेसम्म खेती बाली नै हुँदैन”, डा अधिकारीले भन्नुभयो, “प्राकृतिक विपद्को पनि उस्तै जोखिम छ, जलवायु परिर्वतनका बहुअसर छन् ।” उहाँले जलवायु परिवर्तनसँग जुध्न नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउनुपर्ने धारणा राख्नुभयो । 

‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदीप्त गिरीले हिन्दुकुश–हिमालय क्षेत्र विश्वमै पानीको तेस्रो ठूलो स्रोत रहेको बताउनुभयो । “पृथ्वीको बढ्दो तापक्रमलाई नियन्त्रण गर्न नसकिए हिमनदी नै हराउने चेतावनी वैज्ञानिक र भूगर्भविद्हरुले दिएका छन्”, उहाँले भन्नुभयो, “हाम्रा हिमालहरुले झेलिरहेको सङ्कट डरलाग्दो छ, हिमपहिरो, बाढीजस्ता अतिशय घटना भइरहेका छन् ।”

संयोजक गिरीले हरितगृह ग्यासको उत्सर्जनले पर्यावरण चक्रमा गम्भीर असर पु¥याएको बताउनुभयो । हिउँ पग्लेर बनेका हिमताल फुटेमा तल्लोतटीय क्षेत्रका बासिन्दाले अकल्कपीय क्षति र सङ्कट व्यहोर्नुपर्ने उहाँको भनाइ छ । “जलवायु सङ्कटलाई सामान्य आँकेर बस्नुहुँदैन”, संयोजक गिरीले भन्नुभयो, “नेपाल पर्वतीय संवेदनशीलता बोकेको भूगोलमा अवस्थित रहेकाले प्राकृतिक स्रोतको उचित सदुपयोग र व्यवस्थापन हुन नसके अकल्पनीय प्राकृतिक विपत्ति निम्तन सक्छ ।”

वन विज्ञान अध्ययन संस्थान पोखराका उप–प्राध्यापक एवं जलाधार विज्ञ राजन सुवेदीले नेपालको प्राचिन सभ्यता हिमाल र खोलानालासँग जोडिएको बताउनुभयो । “पानीको स्रोत नरहे पृथ्वी र प्राणीको अस्तित्व नै सकिन्छ, पृथ्वीलाई सन्तुलित गरेर राख्ने भूमिका पानीले खेलेको हुन्छ”, सुवेदीले भन्नुभयो, “पानीका स्रोत जोगाऔँ, नदीनाला सफा र स्वच्छ राखौँ ।”