इस्लामावाद, १८ चैत । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा विगत दुई दिनको अवधिमा वर्षासँग सम्बन्धित घटनामा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।
खैबर पख्तुनख्वाको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार मृत्यु हुनेमा आठ बालबालिका र दुई महिला रहेका छन् । घाइतेमध्ये नौ बालबालिका, दुई महिला र एक पुरुषलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
शुक्रबारदेखि सुरु भएको मुसलधारे वर्षाका कारण प्रान्तभरि कम्तीमा २७ घरमा क्षति पुगेको पीडीएमएले जनाएको छ ।
उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पठाइएको र मृतक र घाइतेलाई अस्पताल लगिएको छ भने घर भत्किएका व्यक्तिहरूलाई आश्रय र आवश्यक सहायता प्रदान गरिएको प्रान्तीय प्रशासनले जनाएको छ ।