बुधबार १२ बैशाख, २०८१

नेपाली समय

नेदरल्यान्ड्समा तीन बन्धक रिहा

नेदरल्यान्ड्समा तीन बन्धक रिहा

एडे (नेदरल्यान्ड्स), १७ चैत  । केन्द्रीय सहर एडेको एक रात्रिकालीन क्लबमा घन्टौँसम्म बन्धक बनाइएका तीन व्यक्तिलाई रिहा गरिएको प्रहरीले बताएको छ । यद्यपि प्रहरीले ‘स्थिति अझै पनि समाप्त नभएको’ बताएको छ । 

गेल्डरल्यान्ड प्रहरीले सामाजिक सञ्जाल एक्समा बन्धकहरूको रिहाईको घोषणा गर्यो । क्लबमा थप बन्धक छन वा छैनन् भन्नेबारेमा प्रहरीले केही बताएको छैन । हतियारले सुसज्जित प्रहरी र विशेष गिरफ्तारी दल, केही मास्क लगाएका क्लबको बाहिर जम्मा भएका थिए । घटनास्थलको भिडियोमा तीन व्यक्तिलाई उनीहरूको रिहाईपछि हावामा हात उठाउँदै बाहिर निस्किएको देखाइएको छ । प्रहरीले एक्समा भनेको छ, “अहिलेसम्म आतङ्कवादी मनसायको कुनै सङ्केत प्राप्त भएको छैन ।”

यसअघि शनिबार अधिकारीहरूले मध्य एडेमा एक चोकलाई घेराबन्दी गरेका थिए र एक भवनमा धेरै मानिसलाई बन्धक बनाएर राखिएको भन्दै वरपरको करिब एक सय ५० घरलाई खाली गरेका थिए । प्रहरी प्रवक्ता सिमेन क्लोकले मनिसहरूलाई बन्धक बनाइएको बताउनुभयो तर उहाँले घटनाबारे थप विवरण दिन वा कति मानिस संलग्न थिए भन्नेबारेमा जानकारी दिन अस्वीकार गर्नुभयो । 

घटनास्थलमा रहेका एपीका फोटोग्राफरका अनुसार बन्धकहरूलाई एडेको लोकप्रिय बार तथा रात्रिकालीन क्लब पेट्टीकोटमा राखिएको थियो । आम्स्टर्डमबाट ८५ किलोमिटर दक्षिणपूर्वमा रहेको ग्रामीण बजार सहर एडेका घटनास्थलका तस्बिरहरूमा प्रहरी र अग्निनियन्त्रकहरूलाई एउटा घेराबन्दी गरिएको क्षेत्रमा सडकमा देखाइएको छ । 

यो अवस्था कायम रहेसम्म केन्द्रमा सबै पसलहरू बन्द रहने नगरपालिकाले जनाएको छ ।  सहरको स्टेसनबाट आवागमन हुने ट्रेनहरूलाई पनि रोकिएको छ ।