रौतहट, १७ चैत । नेकपा एमालेका केन्द्रीय सदस्य एवं गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजय कुमार गुप्ताले गौर नगरपालिकाका वर्तमान नगरप्रमुखलाई जनतासँग गरेको बाचा पूरा गर्न नसकेकोमा नगरवासी सँग क्षमा याचना गर्नु पर्ने बताएका हुन्।
नेकपा एमाले पार्टीको वर्गीय सङ्गठन प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति रौतहटले शनिवार गौरमा आयोजना गरेको नव प्रवेशी संचारकर्मीहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख आतिथ्यको रूपमा सम्बोधन गर्दै गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहलाई निर्वाचनको बेला गरेको प्रतिबद्धता पूरा गर्न नसकेकोमा जनता सँग माफी माग्नु पर्ने सुझाव दिएका हुन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रत्याशी समेत रहेका गुप्ताले नगर प्रमुख शम्भु साहले गरेको प्रश्नको जवाव दिँदै भने जब मेरो कारण कालो सूचिमा परेको गौर नगरपालिकामा वडा नम्बर २ मा झोलुङ्गे पुल निर्माणको स्वीकृति कसरी प्रदान भयो भनी प्रति प्रश्न गरे।
वर्तमान नगरप्रमुखले शुक्रवार गौर नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा पूर्व मेयरको कारण गौर नगरपालिका कालो सूचीमा परेको जिकिर गरेका थिए। वर्तमान मेयरले उठाएको प्रश्नको जवावमा पूर्व मेयर गुप्ताले आफ्नो पालामा फाल्गुन महिनामा नै वडा नम्बर २ स्थित बानेश्वर मन्दिर नजिक लालबकैया नदीमा झोलुङ्गे पुल निर्माणको स्वीकृति भएको दाबी गरे। फाल्गुनमा योजना स्वीकृति भयो र वैशाखमा दोस्रो स्थानीय तहको निर्वाचन भएकोले त्यो योजना मेरो पालाको भएको स्पष्ट गरे।
जनतालाई ढाँट्ने काम नगर्न सुझाव दिँदै गौर नगरपालिका वडा नम्बर ४ टिकुलियामा निर्वाचित भएको तीन महिना भित्र झोलुङ्गे पुल बनाई दिने घोषणा कता हरायो भनी प्रश्न गरे। पूर्व नगर प्रमुख गुप्ताले जनता सँग गरेको बाचा पूरा नगरेर ढाँट्ने काम अहिलेको नगर प्रमुखले गरिरहेको टिप्पणी समेत गरे।
कार्यक्रममा नेकपा एमाले रौतहटका नव निर्वाचित जिल्ला अध्यक्ष सच्चिदानंद साहले प्रेस मुलुकको चौथो अङ्गको रूपमा रहेकोले राष्ट्र र समाजको विकासको लागि आवाज उठाइदिनु पर्ने आग्रह गरे। मुलुकमा नयाँ समीकरण बनेकोले नेकपा एमाले बाहेक देशको विकास कुनै अन्य पार्टीले गर्न नसकिने दाबी समेत गरे ।प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति रौतहटका जिल्ला अध्यक्ष उत्तम उपाध्यायको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा १० औ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष सच्चिदानंद साह, उपाध्यक्ष रुपेश पटेल, सचिव बाबूराम दहाल, उप-सचिब अवधेश प्रसाद यादव, नव प्रवेशी संचारकर्मी राकेश यादव, पूजा पाठक, सत्येन्द्र प्रताप सिंह, प्रवीण टिबड़ेवाल, मोहमद तनवीर आलम, धीरज यादव, चन्दन पटेल, सुभाष मंडल. दीपक श्रीवास्तव, अरविन्द यादव, सुमित यादवलाई गम्छा ओढाएर सम्मानित गरिएको थियो ।