रौतहट, १६ चैत । जिल्लाको सदरमुकाम गौरको विभिन्न पसलबाट किराना सामानहरू खरिद गरी जिल्लाको गरुडा र चन्द्रपुर सम्म लागिरहँदा सशस्त्र प्रहरीले पटकपटक उक्त मालसामानहरू समातेर भन्सारमा बुझाउने कार्यबाट व्यापारीहरू आतङ्कित भईरहेका छन् ।
सदरमुकाम गौर बजारमा रहेका विभिन्न पसलबाट किराना सामानहरू खरिद गरी गौरदेखि चन्द्रपुर सम्म कम मुनाफामा दिएर आफनो परिवार पाल्दै आएका व्यापारी सँग गौर देखि चन्द्रपुर सम्मका विभिन्न बेस क्याम्पसका सशस्त्र प्रहरी तथा विभिन्न युनिटका प्रहरीहरूले महिनावारी रूपमा रकम नजराना लिँदै आएपनि वेला बखतमा सामानहरू बसबाट झारी सिधै भन्सार कार्यालयमा पुर्याउने कार्यबाट कारोबार गर्ने व्यापारीहरू आतङ्कित भइसकेको दुखेसो पोखेका हुन् ।
ती व्यापारीका अनुसार गौर देखि चन्द्रपुर सम्म विभिन्न स्थानमा रहेका सुरक्षाकर्मीहरुलाई महिनाका एक लाख ७५ हजार रकम बुझाउँदै आएको भएपनि साता पिच्छे बसमा राखिएको चामल, मैदा, तेल, सहितका किराना सामानहरू डाँका शैलीमा सशस्त्र प्रहरीले झार्न लगाएर भन्सार कार्यालय पुर्याउने कार्य साह्रै अशोभनीय भइरहेको बताए । सशस्त्र प्रहरीले धन पनि लिने धर्म पनि लिने कार्यबाट आतङ्कित भई यस्ता व्यापार नगर्ने तर रकम लिने माल पनि समात्ने विरुद्ध भण्डाफोर अभियान चलाउने ती व्यापारीले सञ्चारकर्मी सँग कुरा गर्दै आफनो पीडा पोखे ।
सीमापारिबाट भन्सार छलेर सामान ल्याउने होइन, पसलबाट किनेर कम मुनाफामा गौर देखि चन्द्रपुर सम्म विभिन्न पसलमा सामानहरू पुर्याए बापत केही मुनाफाको भरमा आफनो जीविकोपार्जन गर्दै आएपनि सुरक्षाकर्मीहरूको कारण जीविकोपार्जन गर्न समेत धौं-धौं परेको बताए । सीमापारिबाट भन्सार छलेर आउने सामानहरू धमाधम नेपालमा छिराउन रकम सङ्कलन गर्ने तर पछि त्यही सामानहरू समातेर ठूलो बन्न खोज्नेलाई सबक सिकाउने मनसायमा ती व्यापारी पुगेको गुनासो गरे ।
जिल्लाको भारत सँग जोडिएका विभिन्न चोर नाकाहरू भएर दैनिक लाखौँको राजस्व छलेर मालसामानहरू भित्राउने गरिएको छ । उक्त कार्य गरे बापत व्यापारीहरूबाट मोटो रकम लिँदै आएको ती व्यापारीले सशस्त्र प्रहरी माथि गम्भीर आरोप लगाए । त्यति मात्रै नभई गौर भन्सारको मुख्यद्वार भएर राधेश्याम साहको सामानहरू सजिलै भित्रिएर गोदाम सम्म आउने र गोदामबाट दुई वटा पिकअप गाडीमा राखेर कटहरिया, गरुडा, विर्ता, चन्द्रपुर सम्म निर्बाध रूपमा पठाउने गरेपनि तिनको मालसामानहरू नसमात्ने तर गौरबाट किनेर लग्दा सामान समात्ने सशस्त्र प्रहरीको बदनियतपूर्ण व्यवहारबाट आतङ्कित हुँदै आब उपरान्त व्यापार नगर्ने मनस्थितिमा पुगिसेको नाम नछाप्ने शर्तमा ती व्यापारीले बताए ।
महिनावारी रकम १ लाख ७५ हजार बुझाए पनि होली पर्वमा ६५ हजार रकमको विभिन्न सामानहरू किन्न लगाएको तर दुई दिनमै पुनः डाकाशैलीमा गएर बसबाट ५० हजार मूल्य बराबरको सामानहरू झारेर भन्सार कार्यालयमा दाखिला गरिदिएमा कुन व्यापारीले घाटा सहेर काम गर्छन्, घरको खेतजग्गा बेचेर कारोबार गरियो भने सशस्त्र प्रहरीको द्वैध चरित्रको कारण कारोबार नगर्ने उनले गुनासो गरे ।