काठमाडौं, १५ चैत । आज बिहीबार माननीय मन्त्री भगवती चौधरी र नेपाल लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काको शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई देश बिचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षबिच कुराकानी भएको छ ।
भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देश बिचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई निकै महत्त्व दिएको बताउनु भयो ।
भेटमा मन्त्री चौधरीले भन्नुभयो,‘यो वर्ष हामीले कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा गरेकोमा खुशी लागेको छ । प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकार भनेको हामीले फिनल्याण्डसँग खुसीसाथ साझा गर्ने मूल्यहरू हुन् । दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई प्रवर्धन गर्न उच्चस्तरीय भ्रमणको आदानप्रदान आवश्यक छ ।’
मन्त्री चौधरीले सामाजिक–आर्थिक स्थिति, विशेष गरी नेपालको ग्रामीण समुदायहरूको उत्थान गर्ने प्रयासहरूमा फिनल्याण्डको सहयोग नेपालको लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ । साथै, उहाँले कोभिड १९ को कठिन समयमा नेपाललाई सहयोगको हात बढाएकोमा फिनल्याण्ड सरकार र जनतालाई धन्यवाद पनि दिनुभएको छ ।