रौतह, १४ चैत । रौतहटको उत्तरीभेगमा श्रीमानले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । वृन्दावन नगरपालिका वडा नं. १ भोटिया टोलामा घरायसी विवाद हुँदा ३७ वर्षीय श्रीमान् तीर्थ वाइवाले ३५ वर्षीया श्रीमती सेती माया तामाङको बुधबार घरेलु हतियार प्रयोग गरी हत्या गरेका हुन् ।
श्रीमती तामाङको हत्या गरे पश्चात श्रीमान् वाइवाले धारिलो हतियारबाट आफूपनि हत्याको प्रयास गरेका थिए । त्यसपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए । तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली घटनास्थलमा पुग्दा सेती मायाको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरीका अनुसार घाटीमा घरेलु धारिलो हतियार प्रयोग गरी महिलाको हत्या भएको हो ।
श्रीमान् वाईवालाई भने प्रहरीले गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पतालमा पठाएको छ । घाइते वाइवाको सिभिल अस्पताल चन्द्रपुर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
लामो समयदेखि श्रीमान् श्रीमतीबीच घरायसी विवाद हुँदै आएको खुलेको भएपनि घटनाका बारेमा प्रहरीले अनुसन्धान थालिसकेकाले अनुसन्धानपछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।