रौतहट, १७ फागुन । जिल्लाका आसपासका क्षेत्रमा भारतीय गुट्खा अवैध रूपमा भित्रिने गरेको पाइएको हो । विभिन्न नाकाबाट राजस्व दाखिला नगरी रजनीगन्धा, पानपराग, राजनिवास, कमलापसन्द लगायतका भारतीय गुट्खा भित्रिने गरेको छ । भारतीय गुट्खा राजस्व छली गरेर व्यापारीहरूले नेपाली बजारमा भित्राउने गरेका छन् ।
गौरको प्रत्येक पान पसल र किराना पसलमा भारतीय गुट्खा निर्बाध रूपमा बिक्री भइरहेको पाइन्छ । नेपाली बजारमा भारतीय गुट्खाको माग अधिक रहेकाले यसको बिक्री बढी हुन थालेपछि व्यापारीहरूले अवैध रूपमा भित्राउने गरेको गौरका स्थानीय रामजित दासले बताए । उनका अनुसार भारतीय गुट्खा गौर , बकुल, पिपरा, सुकदेव चोक , मौलापुर, कटहरिया, गरुडा, बालचनपुर र चपुर सम्मको प्राय पान पसलमा भारतीय गुट्खा बिक्री हुने गर्दछ ।नेपाली ग्राहकको पहिलो रोजाई पनि भारतीय गुट्खा नै रहेको बिक्रेता बताउँछन् ।स्रोतका अनुसार नाकाबाट साइकल, मोटरसाइकल र पिक अफ जिपमा भारतीय गुट्खा भित्र्याउने गरेका छन् । गुट्खा कारोबारीले ग्रामीण नाकाबाट मात्र नभई मुख्य नाकाबाटै गुट्खा तस्करी गर्छन् ।
१० रुपैयाँदेखि ५० रुपैयाँसम्ममा बिक्री हुने गुट्खाको आयातमा ३० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि करका साथै प्रतिकिलोमा ५ सय ५४ रुपैयाँ अन्तःशुल्क लाग्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भन्सार राजस्व छली बजारमा निर्बाध गुट्खा बिक्री भइरहे पनि सरोकारवाला निकायले अनुगमनमा चासो देखाएको छैन ।