बुधबार ०२ माघ, २०८१

नेपाली समय

दुवै हात नभएको युवा साईकलमा दाउरा बेचेर जीविकोपार्जन गर्दै

दुवै हात नभएको युवा साईकलमा दाउरा बेचेर जीविकोपार्जन गर्दै

(सत्येन्द्र प्रताप सिंह)

फागुन, ७ रौतहट । जिल्लाको एक युवकको दुवै हात नहुँदा पनि जङ्गलबाट साईकलमा ल्याएको दाउरा बिक्री गरे जीविकोपार्जन गर्दै आएको हो । चन्द्रपुर नगरपालिका वडा नं. १० बस्ने ३८ वर्षीय अशोक पण्डित प्राय हरेक दिन जङ्गलमा जाने र दाउरा सङ्कलन गरेको स्थानीय होटलमा बिक्री गर्ने गर्दछन् ।

करिब ८ वर्ष अघि एक दुर्घटनामा दुवै हातको कुहिना मुनिको भाग गुमाएपछि अहिले साईकल चलाउन समेत कठिन भएको उनको गुनासो छ । आफनो शरीरको ढाड कुप्रो पारेर बिनाहात कुहिना माथिका भागको भरमा साईकल चलाउनु परेको उनको भनाई छ । शरीर स्वस्थ रहँदा जीविकोपार्जनमा समस्या नभएपनि अहिले घर व्यवहार नै चलाउन समस्या भएको उनले दुखेसो गरे। दिनभरी दाउरा सङ्कलन गरेर नजिकैको बाल्चनपुर बजारमा भारी हेरेर ५ देखि ७ सय रुपैयाँमा बिक्री गर्ने गरेको उनले जानकारी दिए। उनका अनुसार दाउरा सङ्कलन गर्ने र नजिकैको बजारमा त्यही बेचेर जीविका चलाउनु दिनचर्या नै बनेको छ । तर जङ्गलबाट ल्याएर बिक्री गरेको दाउराले रोजीरोटी भएपनि छोरीहरूलाई शिक्षा दिन निकै कठिन भएको अशोकको गुनासो छ ।

जेठी छोरी ७ कक्षा र माइली छोरी २ कक्षा पढ्ने गरेपनि तीन वर्षकी कान्छी छोरीलाई भने स्कुल पठाउन नसकेको उनले बताए  । छोरीहरूलाई स्कुलको पोसाक, कापीकलम र झोला किन्न सधैँ अरूको भर पर्नु पर्ने बाध्यता रहेको उनको भनाई छ । तीन वर्षअघि वडा नम्बर १० का तत्कालीन वडाध्यक्ष जयराम चौधरीले जीविका चलाउन भन्दै अशोकलाई साईकल दिएको हो । दुवै हात गुमाएका अशोकलाई जीविकोपार्जनमा समेत समस्या भएपछि आफनो पहलमा एक थान साईकल दिएपछि सहज भएको तत्कालीन वडा अध्यक्ष चौधरीको भनाई छ ।

अहिले सोही साईकल मार्फत विभिन्न काम गरेर अशोकले जीविका चलाएको प्रति उनले खुशी व्यक्त गरे । तिन वर्ष देखि अशोकले चलाउँदै आएको साईकलको पाटपूर्जामा समस्या आएकाले मर्मत गर्नु पर्ने बेला भएको छ । बालचनपुर परडिया गाउँमा ६ धुरमा बनेको फुसको घर भएपनि पनि सो जमिन गाउँको साहुकै नाममा बन्धकी रहेको उनले उल्लेख गरे ।

पराल काट्ने मेसिन चलाउने बेला कमाएको ३ लाखमा थप सात लाख रुपैयाँ कर्जा खोजेपछि १० लाख रुपैयाँमा किनेको जमिन कर्जा तिर्न नसकेकाले आफ्नो नाममा गर्न नसकिएको प्रति अशोक चिन्तित बनेका छन् । चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले विभिन्न संघ/संस्थालाई यस्ता किसिमका व्यक्तिलाई सहयोग गर्ने आग्रह गरे । आफूले नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।