शनिबार १९ फागुन, २०८०

नेपाली समय

सोनाम ल्होछार र यसको पृष्ठभूमि

सोनाम ल्होछार र यसको पृष्ठभूमि

(रवीन्द्र तामाङ)

काठमाडौँ, २७ माघ । प्राचीनकालमा काठमाडौँ उपत्यका ठूलो दहको रुपमा थियो । जहाँ नागहरु बस्दथे । एकदिन बन्धुमती नगरबाट विपश्वी बुद्ध आउनुभयो र दहमा चैत्र पूर्णिमाको दिन कमलको बीज छर्नुभयो । सोही बीजबाट कमलको फूल फूल्यो र आश्विन शुक्ल पूर्णिमाको दिन सोही फूलमाथि श्रीस्वयम्भू ज्योतिरुप उत्पन्न भयो । त्यही ज्योतिरुपबाट निःसृत पञ्चरङ्गी किरणमा पञ्चबुद्ध प्रकट हुनुभयो । 

यसपछि विश्वभू बुद्ध आएर स्वयम्भू ज्योतिको दर्शन गर्नुभयो । उहाँले नै त्यस नाग दहको जल बाहिर निकाल्न सकिने बाटो बताउनुभयो । साथै, यहाँ चाँडै मानव सभ्यता र संस्कृतिको विकास हुने घोषणा गरेर फर्कनुभयो । यसैगरी महाचीनबाट आफ्ना शिष्यसहित महामञ्जुश्री आएर कात्तिक शुक्ल पूर्णिमाको दिन स्वयम्भू ज्योतिको दर्शन गर्नुभयो । 

दहको पानी निकालिए पनि नागहरु यहाँ बसुन् भनी टौदह, धनदह र द्वासा तीर्थको सिर्जना गर्नुभयो । अनि उहाँले उपत्यकामा मञ्जुपत्तन नामक सहर बसाई धर्मकरलाई राजा बनाई दिनुभयो । मञ्जुश्रीले नै यसपछि बनेको नेपाल खाल्डोमा मानव सभ्यता र बौद्ध संस्कृतिको स्थापना गर्नुभयो भन्ने कुरा स्वयम्भू पुराणमा उल्लेख गरिएका छन् ।

जातीय अवधारणा 

यही पृष्ठभूमि उल्लेख गर्दै बौद्ध धर्मावलम्बी तामाङ समुदायले आफूलाई बोधिमहासत्व मञ्जुश्रीसँगै उपत्यकामा आएका शिष्यहरुका सन्तान हौँ, उपत्यकाका आदिवासी हौँ भन्ने दाबी गर्ने गरेका छन् । त्यसैले यिनीहरु आफ्ना गुरु र पूर्खा महामञ्जुश्रीको स्मरण गर्दै हरेक वर्षको माघ शुक्ल प्रतिपदाको दिन आफ्नो घर आँगन, गुम्बाका साथै पहाड पर्वतका थुम्काका मञ्जुश्रीको प्रतीक खडग÷राल्ठीको गजुर राखी धार्मिक भण्डा (लुङदर) ठड्याएर वसन्त उत्सव आरम्भ भएको उपलक्ष्यमा नववर्ष अर्थात् ल्होछार सुरु भएको घोषणा गर्दछन् ।

तामाङ समुदायले मान्ने गरेको यसपटकको ल्होछार (नयाँ वर्ष) मञ्जुश्री सम्वत् २८६०, पञ्च तत्वगत स्वभाव काठ र वर्ष गरुढ/ड्रयागन/मुपुख्री पर्न गएको छ । 

वर्ष (वर्ग) परिचय र महत्व 

तामाङ समुदायले मनाउने वर्षहरुले १२ वटा पशुपन्छीको प्रतिनिधित्व गरेका पाइन्छन् । तिनमा क्रमशः मुसा, गोरु, बाघ, बिरालो, ड्रागन, सर्प, घोडा, भेँडा, बाँदर, चरा, कुकुर र सँगुर पर्दछन् । 

उल्लेखित १२ पशुपन्छीका प्रतीकस्वरुप रहेका वर्ग/वर्षहरुको प्रतीकात्मक र पञ्च तत्वगत आगो, माटो, धातु, पानी र काठ स्वभाव हुने गर्दछन् । यिनै दुवै आधारलाई लिएर उनीहरु आफ्नो वर्ष गणना, स्वभावको अड्कल, संस्कार सम्पन्न र नव कार्यहरुको थालनी गर्दा धर्मगुरु वा लामा पुरोहितसित सरसल्लाह गर्ने गर्दछन् । यसो गर्दा उनीहरु चिनीया प्राचीन ज्योतिष पद्धतिको चन्द्र पात्रोको अवलम्बन गर्ने प्रचलन रहेको छ । यसका अतिरिक्त १२ पशुपन्छीहरुको वर्ग÷वर्ष र पञ्च तत्वगत स्वभावहरु मिलाउँदा मित्र वर्ग भए राम्रो हुने र शत्रु वर्ग भए नराम्रो हुने तामाङ समुदायको धार्मिक मान्यता रहेको पाइन्छ ।

जब भगवान् बुद्ध स्वर्ग फर्कने बेला नजिक आयो । तब उहाँले सबै पशुपन्छीलाई आफूले पृथ्वी छोड्न पूर्व बोलाउनुभएको थियो । भनिन्छ, त्यतिखेर उहाँलाई बिदाइ गर्न केवल १२ वटा पशुपन्छी आइपुगे । उहाँलाई भेट गर्न एकपछि अर्को गरी क्रमशः आउने पशुपन्छीकै नामबाट उहाँले वर्षको नामकरण गरिदिनुभयो । जुनजुन पशुपंक्षी वर्षहरुमा जुनजुन मानिसको जन्म हुन्छ, तिनै मानिसको चरित्र, व्यवहार, स्वभाव, गुण र जीवनशैली रहोस् भनेर पनि भगवान् बुद्धले आर्शिवाद पनि दिनुभयो । 

यसै अवधारणाअनुसार ल्होछारअर्थात् नयाँ वर्ष मनाउने परम्परा बौद्ध सभ्यता भएका नेपाल, चीन, जापान, कोरिया, लावोस, भियतनाम, बर्मा, थाइल्याण्ड, मलेसिया, इण्डोनेसिया, सिङ्गापुर, मङ्गोलिया, तिब्बत, हङकङ, भुटान, फिलिपिन्स र भारतलगायत देशमा पशुपन्छीलाई समेत सम्मानित गरी सोनामअर्थात् कृषकको नयाँ वर्ष मनाउने प्रचलन रहेको छ । 

ल्होछारको प्रारम्भ 

तामाङ समुदाय परम्परागत रुपमा सौर्य पात्रोअनुसार माघे सङ्क्रान्तिदेखि नै नववर्ष फेरिएको अर्थात् ल्हो धोबा भनेर पर्व मनाउन थाल्दछन् । उनीहरु पुसको अन्तिम दिनको साँझपख कन्दमुल र फापरको रोटी उसिन्ने गर्दछन् । सङ्क्रान्तिको दिन उनीहरुका घरमूली वा महिला पानी पँधेरो रहेको ठाउँमा गएर नुहाई, पाठपूजा गरी, चोखो पानी ल्याएर कुलदेवता र भगवान् बुद्धलाई चढाउने गर्दछन् । 

यसपछि स–परिवारले आफ्नो कुलदेवता र भगवान बुद्ध, पद्यसम्भव, महामञ्जुश्रीलगायतका बोधिसत्वलाई ढोग गर्दछन् । अनि परिवारका प्रत्येक सदस्यले ढोग थापी टीका लगाएर आर्शिवाद (मोलम) लिने गर्दछन् । यसपछि विशेष रुपमा तयार पारिएका कन्दमुल र आलुजस्ता खाद्यपदार्थ एकै ठाउँमा बसी खाने गर्दछन् । त्यसपछि गाउँघरमा रहेका अन्य मान्यवर कहाँ गएर ढोग गरी आशीर्वाद लिने गर्दछन् । 

बालबालिका घरदैलोमा पुगी ‘आलुम पउ माम, गेङ पउ माम/पानी रोटी–बाबर रोटी दिनुस बज्यै...’ भन्दै माग्ने, दिएपछि ढोग गर्ने र आर्शिवाद लिने गर्दछन् । त्यही साँझ कुलायन भाइ, छोरी ज्वाइँहरुसँगै बसेर जाँडरक्सी र अन्य परिकार सँगै खानपिन गर्दछन् । खानपिनपछि भने डम्फु बजाएर दुःखसुखका सेलो गीत गाउँछन् ।  डम्फु, म्हेन्दोमाया, घोडा, भाक्पा, लामा र स्याब्रुलगायतका नृत्य पनि गर्ने प्रचलन छ । यसरी कुल कुटुम्बलाई बोलाएर अनिवार्य रुपमा खुवाउने कार्यक्रम तामाङमा माघ महिनाभर चल्दछन् । 

शुक्ल प्रतिपदा धार्मिक ल्होछार 

चिनियाँ ज्योतिष पद्धति र चन्द्र पात्रोअनुसार तिथिगत रुपमा तामाङ समुदाय माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष फेरिएको मान्दछन् । यस दिन यिनीहरु आ–आफ्ना गाउँमा रहेको घ्याङ/गुम्बामा भेला हुन्छन् । भगवान् बुद्ध र उनका शीर्ष अनुयायी अवलोकेश्वर, पद्मसम्भव, बज्रसत्व, मञ्जुश्रीलगायतका स्मरण र पूजन गर्दछन् । आफ्ना पुरोहित लामाबाट दीप प्रज्वलित गर्दै मानव र विश्व शान्तिको कामना गर्दै नववर्षले सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने वरदान नयाँ वर्ष फेरिएको प्रतीकको रुपमा धार्मिक झण्डा ‘लुङ्दर’ ‘ध्वजा’ राखी चम्पा पीठो आकाशतर्फ उडाउने प्रचलन पनि रहेको छ । 

यसरी धार्मिक ध्वजा उभ्याउँदा लामा पुरोहित र उपस्थित मान्यजनले ‘चम्पा’को पीठो तीन पटक आकाशतर्फ उडाउने गर्दछन् । यसरी उडाउँदा उनीहरु ‘राक्षसहरुको अन्त्य होस्’ देवताहरुको विजय होस्, अनिकाल हटोस्, सहकाल आओस्, दुःख, दशा, रोग, अशान्ति नहोस्, सुख शान्ति र दीर्घायु रहोस् भन्ने बौद्ध वेदअनुसार मन्त्रोच्चारण गर्दछन् । 

प्राचीनकालमै यसरी नेपाल उपत्यकामा महाचीनबाट प्रवेश गरेको बौद्ध धर्मावलम्बी तामाङ समुदायले आफ्नो धार्मिक एवं सांस्कृतिक चाडको रुपमा नयाँ वर्षलाई भव्यताका साथ लिच्छवीकालसम्म मनाउने गरेका भए पनि मल्ल र शाहकालमा एकछत्र रुपमा हिन्दू धर्मले राज्यगत मान्यता र संरक्षण पाउँदा यसको अवस्था लोपोन्मुख भएको हो । 

विसं २०४६ मा मुलुकमा प्रजातन्त्र पुर्नवहालीसँगै तामाङ संस्थाहरुले पनि यस चाडलाई पुनः ब्युँत्याए र विभिन्न कार्यक्रम गरी मनाउन थाले थिए । २०५१ सालदेखि राज्यले तामाङ ल्होछारलाई मान्यता दिँदै सार्वजनिक बिदा दिन सुरु गरेपछि यसको महत्व र प्रचलन व्यापक हुँदै आएको देखिन्छ । तामाङ जातिको माउ संस्था नेपाल तामाङ घेदुङ सङ्घले हरेक वर्ष राजधानीको टुँडिखेलमा भव्यरुपमा नव वर्षअर्थात् ल्होछार पर्वको उपलक्ष्यमा बृहत्त कार्यक्रम मनाउँदै आइरहेको छ । 

तामाङ जाति नेपालको मध्यपहाडी क्षेत्रमा आदिमकालदेखि बसोबास गर्ने मुलवासी हुन् । तामाङ जाति मुलरूपमा काठमाडौँ उपत्यका लगायत वरिपरिका जिल्ला सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, सिन्धुली, दोलखा, रामेछाप, रसुवा, नुवाकोट र धादिङमा बाहुल्यातापूर्वक बसोबास गरेको पाइन्छन । तर, बसाइँसराइ तथा आप्रवासनको कारण नेपालको सबै जिल्ला र भारतको पश्चिम बङ्गालको दोर्जेलिङ, कालेबुङ, खर्साङ, आसम, नागाल्यान्ड, मणिपुर, अरुणाचल लगायत भुटानसम्म फैलिएका छन । मातृभाषा तामाङ बोलिने यी जातिमा १२ तामाङ र १८ भन्दा बढी उपथर रहेका छन् । तामाङ समुदायको भाषा भोट बर्मेली परिवारभित्र पर्दछ । नेपालमा तामाङ जातिको जनसङ्ख्या २०७८ सालको जनगणनाअनुसार १६ लाख ३९ हजार ५० अर्थात् ५.६२ प्रतिशत रहेको पाइन्छ ।