शनिबार १९ फागुन, २०८०

नेपाली समय

जिउँदो छँदै आफ्नो चिहान आफैँ बनाइन्छ

जिउँदो छँदै आफ्नो चिहान आफैँ बनाइन्छ

(कविराज घिमिरे)

धनकुटा, २७ माघ । धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङस्थित माङ्दाङ्वा गाउँका मनप्रसाद इवाहाङ अहिले ८२ वर्ष पुग्नुभयो । माङ्दाङ्वा गाउँका बिचमा उहाँको एउटा सामान्य कच्ची घर छ । घरभन्दा अलि मुनि अर्को ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरेर एक सानो तर चिटिक्क परेको पक्की घर निर्माण गर्नुभएको छ ।

सामान्य कच्ची घरमा उहाँ अहिले बस्दै आउनुभएको छ । तर चिटिक्क परेको सानो पक्की घर भने उहाँले आफ्नो मृत्युपछि आफ्नै प्रयोजनका निम्ति निर्माण गर्नुभएको हो । त्यसलाई स्थानीयले लास घर अर्थात् कपुरथान (चिहान) भन्ने गरेका छन् ।  लिम्बू भाषामा यसलाई चेहिम भन्ने गरिन्छ । चे भनेको लास र हिम भनेको घर भन्ने बुझिन्छ । चार छोरी र एक छोरा रहेका मनप्रसाद आफ्नी ७३ वर्षीया पत्नी शुकरानी इवाहाङसँग रहँदै आउनुभएको छ । उहाँले कपुरथान पतिपत्नी दुवै जना अट्ने गरी दुई कोठा भएको निर्माण गर्नुभएको छ ।

पाँच वर्षअघि नै करिब एक लाख रुपियाँ खर्चेर ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरेर कपुरथान निर्माण गर्नुभएको हो । कपुरथानमा शव राख्ने भाग खाली राखिएको छ । खाली भागमा मनप्रसाद र शुकरानीको निधनपछि पार्थिव शरीर राखिने छ । इवाहाङ दम्पतीका पाँच छोराछोरीमध्ये अहिले कोही पनि साथमा हुनुहुन्न । उहाँहरूले सबै बाहिर रहेकाले मृत्युअघि नै कपुरथान निर्माण गरिएको बताउनुभयो । “छोराछोरी सबै बाहिरै छन्, मरेपछि कहिले आउलान्, कसो गर्लान्, कहाँ राख्लान् ? अहिले नै निर्माण गरिदिए त मृत्युपछि दुई चार जना गाउँले भेला भएर कपुरथानमा लगेर हालिदिन सक्छन् नि । त्यसैले पहिले नै बनाएका हौँ,” मनप्रसादले भन्नुभयो । 

सोही स्थानका स्वर्गीय नैनकुमार तुम्बापोले पनि आफू र पत्नीका लागि केही वर्षअघि दुई कोठाको आकर्षक कपुरथान निर्माण गर्नुभएको थियो । तर उहाँले निर्माण गरेको दुई कोठे कपुरथानको एउटा कोठो खुला छ भने अर्को कोठो सधैँका लागि बन्द भइसकेको छ । पाँच महिनाअघि मृत्यु भएका नैनकुमारको शवलाई कपुरथानको एक कोठामा राखिएको छ । पत्नीका लागि निर्माण गरिएको कोठो भने खुला छ ।

सामान्यतया लिम्बू जातिमा निधन भएपछि शव राख्ने यस्तो परम्परा छ । चिहानघरमा शव राखिसकेपछि बाहिरबाट ढुङ्गामा माटो वा सिमेन्ट प्रयोग गरी प्वाल बन्द गरिदिने चलन छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङमा जीवित अवस्थामै आफ्ना लागि चिहान बनाउने चलन बढ्दै गएको छ । माङ्दाङ्वा गाउँका १५ ज्येष्ठ नागरिकले आफूले रोजेको ठाउँमा कपुरथान बनाएका छन् । स्थानीय शिवकुमार इङ्नामले १५ जनाभन्दा बढीको शव आफैँले निर्माण गरेको कपुरथानमा पुरिसकिएको बताउनुभयो ।

स्थानीय समाज सेवी रमेश इवाहाङका अनुसार २०४० सालबाट नै यो परम्पराको सुरुवात भएको हो । पहिलो पटक सुब्बा चन्द्रप्रसाद तुम्बापोले यो कार्यको सुरुवात गर्नुभएको थियो । कपुरथान निर्माण गरेको १७ वर्षपछि अर्थात् २०५७ सालमा उहाँको मृत्यु भएको थियो । स्थानीय रमेश इवाहाङले चन्द्रप्रसादलाई ‘चिहान बुढो’ नामबाट चिनिने गरिएको बताउँदै भन्नुभयो, “उहाँले पहिलो पटक निर्माण गर्दा यो धेरैका लागि अनौठो भयो । धेरै जना हेर्न आउँथे ।”

जिउँदो छँदै चिहान बनाउनेहरूले धर्मग्रन्थ अनुसारभन्दा पनि आफ्नै इच्छाले बनाएका हुन् । लिम्बू जातिका खोजकर्ता भगिराज इङ्नामले धर्मशास्त्र मुन्धुममा उल्लेख भए अनुसार मृत्युपछि शवलाई नदीमा बगाउने गरिएकोमा माछाले नदी आफूहरूको भएको दाबी गरेपछि रुखमा झुन्ड्याउने गरेका र रुखमा झुन्ड्याउँदा चराचुरुङ्गीले नदिएकाले भिरबाट फाल्ने गरिन्थ्यो । उहाँले त्यसरी फाल्दा तर्साउने गरेकाले माटो र ढुङ्गा मिलाएर पुर्न सुरु गरिएको मुन्धुममा उल्लेख भएको बताउनुभयो । अचेल पक्की कपुरथान निर्माण गर्न थालिएको छ ।