शनिबार १९ फागुन, २०८०

नेपाली समय

काठमाडौँमा राष्ट्रिय हाइकु महोत्सव, राससका अध्यक्ष झा सम्मानित

काठमाडौँमा राष्ट्रिय हाइकु महोत्सव, राससका अध्यक्ष झा सम्मानित

काठमाडौँ, २५ माघ । नेपाल हाइकु सङ्घले आज यहाँ राष्ट्रिय हाइकु महोत्सव-२०८० आयोजना गरेको छ । ‘नेपाली हाइकु : नेपाली सुगन्ध’ नाराका साथ नेपाली हाइकु कविता विधाको महत्व र विस्तारको उद्देश्यसाथ उक्त महोत्सवको आयोजन गरेको सङ्घले जनाएको छ । 

प्रज्ञा प्रतिष्ठानमा आयोजित महोत्सवका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालमा राम्रो हाइकु कविताहरु लेखिएको बताउनुभयो । उहाँले महोत्सवका लागि आयोजकलाई बधाई दिँदै उक्त विधा निकै पहिलेदेखि लेखिँदै आएको बताउनुभयो ।

जापानी कविता विधा हाइकुको लेखन ५–७–५ हरफको महत्वबारे हरिप्रसाद सिल्वालले प्रकाश पार्नुभएको थियो । उहाँले हाइकुको संरचना पक्ष एउटा र शैली–शिल्प तथा अन्तर वस्तु अर्को पक्ष रहेको बताउनुभयो । उहाँले हाइकुमा विम्ब र प्रतीकको सही प्रयोग हुनुपर्ने बताउँदै १७ अक्षरको हाइकुमा पनि कम्तीमा दुई वटा विम्ब र प्रतीकको प्रयोग हुनुपर्ने बताउनुभयो ।

सङ्घले सृजनामा उच्च योगदान पु¥याउनुभएका हाइकु कविहरुलाई सम्मानितसमेत गरेको छ । हाइकु कविहरु अञ्जना पौडेल, अजिता डङ्गोल, पारो तिमिल्सिना, दिव्य गिरी र शानु शर्मा लगायतले हाइकु वाचन गर्नुभयो । 

सङ्घका अध्यक्ष चेतनाथ धमलाले कार्यक्रममा हाइकुको विकास र नेपालमा हाइकुलेखनमाथि विचार राख्नुभएको थियो ।

अध्यक्ष झा सम्मानित

सो कार्यक्रममा हाइकु सृजनामा उच्च योगदान पु¥याउनुभएका कवि एवं राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई उत्कृष्ट हाइकु कविको सम्मानले सम्मानित गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उहाँलाई सम्मान प्रदान गर्नुभयो । 

अध्यक्ष झाले मैथिली भाषामा ‘धुँआइत आकृतिसभ’ हाइकु सङ्ग्रह प्रकाशित गर्नुभएको छ । यसका साथै उहाँका मैथिली भाषामा तांका सङ्ग्रह, दीर्घ कविता, कविता सङ्ग्रहका साथै अन्य विधाका कृतिहरु पनि प्रकाशित छन् । 

त्यस अवसरमा कार्यकारी अध्यक्ष झासहित हाइकु कवि मोहन दुवाल, मधुसुदन गिरी, भीम उदास, धीरेन्द्र प्रेमर्षि, सुरेन्द्र महर्जनलगायतलाई सम्मानित गरियो । 

सम्मानित कविलाई खादा र सम्मानपत्र प्रदान गरिएको थियो ।