शनिबार १९ फागुन, २०८०

नेपाली समय

मन्दिरको प्रचारका लागि मिनी म्याराथन

मन्दिरको प्रचारका लागि मिनी म्याराथन

डुम्रे (तनहुँ), २५ माघ । प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिरको प्रवर्द्धनका लागि यहाँका बासिन्दा जुटेका छन् । माछालाई देवीको रूपमा पुजिने यस मन्दिरको प्रचार–प्रसार गर्ने उद्देश्यले दमौलीबाट छाब्दी बाराही देवीको मन्दिरसम्म मिनी म्याराथन गरिने भएको हो । 

तनहुँको व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस र व्यास–१४ स्थित छाब्दी बाराही विकास कोषको संयुक्त आयोजना तथा रजवाम युवा क्लबको सहआयोजनामा ‘आदिकवि–छाब्दी मिनी म्याराथन’ गर्न लागिएको हो । यसबाट मन्दिरको प्रचार–प्रसार र प्रवर्द्धन हुनाका साथै आन्तरिक, बाह्य एवं धार्मिक पर्यटनलाई विस्तार गरी युवालाई खेलप्रति आकर्षण गर्न सकिने त्यहाँका वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो । 

“क्याम्पसको वार्षिक खेलकुद कार्यक्रम–२०८० अन्तर्गत हुने दौड प्रतियोगितालाई पर्यटन प्रवर्द्धनसँगै समेटिएको छ”, उहाँले भन्नुभयो, “म्याराथन आयोजनाका लागि प्रारम्भिक तयारी बैठक बसेका छौँ । विभिन्न क्षेत्रबाट आदिकविमा अध्ययनरत विद्यार्थीमार्फत मन्दिरको संरचना विस्तार र क्याम्पसको शैक्षिक विकास हुने विश्वास लिएका छौँ ।”

क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसबाट छाब्दी बाराही मन्दिरसम्म दौड हुने बताउनुभयो । व्यास–१ आदिकवि भानुभक्त क्याम्पसबाट व्यास–१४ छाब्दी बाराही मन्दिर परिसरसम्म दौड हुनेछ । उहाँले भन्नुभयो, “प्रतियोगिता प्रजातन्त्र दिवसका अवसरमा फागुन १ गतेदेखि खेलकुद सप्ताह सुरु हुन्छ । सोहीअन्तर्गत म्याराथन पनि गर्न लागेका हौ ।”

म्याराथनमा जिल्लाभरका क्याम्पस र उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई खुला प्रतिस्पर्धा गर्ने अवसर दिइने क्याम्पस प्रमुख हड्खलेले बताउनुभयो । सात दशमलव पाँच किलोमिटर दूरीको मिनी म्याराथन दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

मन्दिर विकास कोषका अध्यक्ष थानबहादुर थापाले भन्नुभयो, “सबै पक्षबाट गरिएको प्रवर्द्धनात्मक कार्यले मन्दिरको विकास हुनाका साथै यहाँ धार्मिक, आन्तरिक तथा बाह्य पर्यटक आउने वातावरण पनि बनाउन सकिनछ ।”

मन्दिरमा भाकल र दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ माछालाई देवीको रूपमा पुजिन्छ । सदरमुकाम दमौली बजारबाट करिब आठ किलोमिटर पूर्वमा उक्त मन्दिर अवस्थित छ । दमौलीबाट छाब्दी मन्दिरसम्म नै सडक कालोपत्र भइसकेकाले समय समयमा बसको यात्रामा करिब २० मिनेटमा सहजै मन्दिरसम्म पुग्न सकिन्छ । विभिन्न जिल्लाबाट भक्तजन यस मन्दिरमा पूजाअर्चना र भाकल बुझाउन आउने गर्दछन् । सो मन्दिरमा विशेषगरी साउन महिनामा पूर्णरूपमा नियमित पूजाअर्चना बन्द रहन्छ ।

पृथ्वी राजमार्गबाट नजिकको दूरीमा सो मन्दिर पर्ने भएकाले पोखरा–काठमाडौँ यात्रा गर्ने यात्रुका लागि गन्तव्यस्थल बनाउन सकिन्छ । अन्य दिनमा भन्दा शनिबार भक्तजन बढी आउने गरेको मन्दिरका मुख्य पुजारी चोलबहादुर आलेले जानकारी दिनुभयो । उक्त दिन चारदेखि पाँच जना र अन्य दिनमा दुई पुजारीले पूजापाठ र बलि चढाउने कार्य गर्दै आएका छन् । आधा रुप देवी र आधा रुप मत्स्यका रुपमा छाब्दी बाराही देवीलाई लिइन्छ । 

मन्दिर परिसरमा रहेका माछा देवीका अवतारका रुपमा पुजिने गरिएको छ । सुरुमा खरको छानोबाट सुरु भएको उक्त मन्दिर क्षेत्रमा अहिले पक्की भौतिक संरचना निर्माण गरिएको छ । भक्तजनका लागि लाइनमा बस्ने व्यवस्था, वनभोजस्थल र बलि दिइएका कुखुरा तथा बोका सरसफाइ गर्ने स्थलको व्यवस्थापन मन्दिर विकास कोषले गरेको छ । 

कुखुरा सफाइ गर्दा रु एक सय र बोकाका लागि रु पाँच सय शुल्क निर्धारण गरिएको छ । दान, दक्षिणा र भेटीबाट सङ्कलन भएको रकमले मन्दिर परिसरमा भौतिक संरचना निर्माण गर्दै आइएको कोषले जनाएको छ । मन्दिर परिसरमा करिब रु १६ लाखको लागतमा छाब्दी देवीको आधा देवी र आधा मत्स्यगन्धाको पूर्णकदको मूर्ति निर्माण गरिएको अर्का पुजारी डोलबहादुर आलेले जानकारी दिनुभयो । 

पुरानो कुण्डमा मन्दिर निर्माण गरिएको छ । त्यहाँ बिहान–बेलुकाको समयमा पुजारीले नित्य पूजा गर्दै आएका छन् । सुरुमा जरसिं आलेले छाब्दी देवीलाई प्रत्यक्ष भेट गरेको किंवदन्ती छ । दैनिक गोठालो जाँदा हालको छाब्दी खोला र कुण्डमा माछा मार्दै आएका आलेलाई एकदिन साँझपख गोठको छेउमा आगो तापिरहेको अवस्थामा कलकलाउँदो एक बालिकाको भेषमा देवीले बास खोज्न पुगेको बताइन्छ ।

गोठाला आलेले खानेकुरा नभएको र बिहानको बासी भात रहेकाले गाईको दूध खुवाएर बास बस्न आग्रह गरेको कथा यहाँ सुन्न पाइन्छ । साँझ झमक्क पर्दै गएकाले सानो मान्छे कहीँकतै नजान र आफ्नै घरमा बास बस्न आलेले आग्रह गर्नुभएको कुरा अहिले पनि त्यहाँका ज्येष्ठ नागरिकले बताउँदै आएका छन् । केही समयपछि म कुण्डमा बस्छु, मलाई धुपबत्ती गरेर पुज्नु दुई–दुई कदम पछाडि फर्केर बालिका विलिन भएपछि झसङ्ग हुँदै निद्राबाट ब्युँझेजस्तो भएको आलेका अहिलेका पुस्ताले बताउने गर्छन् ।

 भोलिपल्ट बिहानै उक्त कुण्डमा गई हेर्दा सुन रङको माछा ढुङ्गामा बेरिएर रहेको अवस्थामा देखेपछि अचम्म हुँदै एकाएक विलीन भएपछि कुण्डमा रहेका स–साना ढुङ्गा पनि पल्टाएर खोज्ने क्रममा ढुङ्गा पल्टाउनसमेत नसकेपछि देवीको शक्ति रहेछ भनी पूजाअर्चना गर्न थालिएको उनीहरू सुनाउँछन् । सोही दिनदेखि छाब्दी बाराही मन्दिरमा मगर जातिका व्यक्ति पुजारी रहने गरी यहाँ पूजाअर्चना गर्दै आएको बताइन्छ ।