शनिबार १२ जेठ, २०८१

नेपाली समय

श्रम बजारका समस्या समाधानका लागि मन्त्री भण्डारीद्वारा सामूहिक प्रयासमा जोड

श्रम बजारका समस्या समाधानका लागि मन्त्री भण्डारीद्वारा सामूहिक प्रयासमा जोड
फाइल फोटो

काठमाडौँ, २८ मङ्सिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट कार्यबल तयार गर्दै श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।

साउदी अरबको रियादमा आज भएको मन्त्रीस्तरीय र व्यावसायीक गोलमेच सम्मेलनमा मन्त्री भण्डारीले विश्व द्रुत रूपान्तरणबाट गुज्रिरहेको अवस्थामा विश्वव्यापी श्रम बजारमा देखिएका समस्या समाधानका लागि सामूहिक प्रयासमा जोड दिनुभएको हो । उहाँले श्रम बजारमा रहेको सीपको खाडल पहिचान गर्ने र खाडल पूरा गर्न लक्षित प्रशिक्षण प्रदान गर्दै आएको उल्लेख गर्नुभएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

नेपालमा सङ्गठित श्रमको अनिवार्यतालाई आफूहरुले बुझेको उल्लेख गर्दै मन्त्री भण्डारीले सीप विकासलाई प्राथमिकता दिएको बताउनुभयो । श्रम र रोजगारदाताबीच सम्बन्ध निर्माण गर्न सरकारी निकायले विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उहाँले सामाजिक सुरक्षा कसरी प्रदान गर्ने भन्ने उत्तरदायित्व सरकारको हुने उल्लेख गर्नुभयो ।

प्रभावकारी सामाजिक सुरक्षाका लागि नेपाल सरकारले काम गरिरहेको बताउँदै मन्त्री भण्डारीले यसमा जोखिममा परेकालाई जोगाउन र सबैलाई समेट्न सुनिश्चित गरिने धारणा व्यक्त गर्नुभयो । उहाँले कुशल र उत्पादक श्रम बजारका लागि यस्ता अन्तर्राष्ट्रिय मञ्चमार्फत पारस्परिक सूचना र शिक्षा आदानप्रदान गर्न तथा सामूहिकरुपमा काम गर्नका लागि सम्पर्क सञ्जाल स्थापना गर्न प्रस्तावसमेत गर्नुभयो ।