बुधबार ०२ माघ, २०८१

नेपाली समय

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान
फाइल फोटो

काठमाडौँ, २३ मङ्सिर । परराष्ट्रमन्त्री नारायणप्रकास (एनपी) साउद आज कतार प्रस्थान गर्नुभएको छ । दोहा सम्मेलनमा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

आइतबारदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा परराष्ट्रमन्त्री साउदले इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउनुहुने उहाँका प्रेस संयोजक केशव साउदले राससलाई जानकारी दिनुभयो । 

कतारमा रहँदा मन्त्री साउदले आफ्नो कतारी समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तानबिन साद अल–मुखारीसँग भेटवार्ता गर्नुहुने छ । 

मन्त्री साउदले यसअघि यही मङ्सिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । 

यस्तै उहाँले मङ्सिर ७ गते नेपालका लागि इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाउनु भई जोशीको रिहाइका बारेमा छलफल गर्नुभएको मन्त्री साउदको स्वकीय सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री साउदले हिजो शुक्रबार मात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरुको विषय हेर्ने संयोजक गल हर्चसँग कुराकानी गर्नुभएको उहाँका स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो । 

नेपाल र इजरायलबीचको ऐतिहासिक सम्बन्धका सन्दर्भमा यस मानवीय सहयोगले विशेष अर्थ राख्ने पनि परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुभएको जोशीले बताउनुभयो । 

जवाफमा संयोजक हर्चले इजरायलले जोशीलाई पारिवारिक सदस्य जस्तो मानेको र उहाँको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन व्यक्त गर्नुभयो । 

सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि जोशी इजरायल जानुभएको थियो ।