आइतबार २४ मंसिर, २०८०

नेपाली समय

महिला सङ्घ नवलपरासीको पदस्थापन सम्पन्न

महिला सङ्घ नवलपरासीको पदस्थापन सम्पन्न

 

नवलपरासी , ४ मङ्सिर । नेपाल महिला सङ्घ जिल्ला कार्यसमिति पश्चिम नवलपरासीको तदर्थ समितिको पदस्थापन तथा शपथग्रहण सम्पन्न भएको छ ।

 

सोमबार परासीस्थित बिपी स्मृति भवन परिसरमा एक कार्यक्रमकाबीच महिला सङ्घ जिल्ला कार्य समिति अन्तर्गत सङ्घीय, प्रादेशिक तथा स्थानीय पालिका  लगायतका समितिमा मनोनयन गरिएका पदाधिकारी तथा सदस्यहरूलाई पदस्थापन तथा शपथ ग्रहण गराइएको हो । 

कार्यक्रममा मनोनयन भएका पदाधिकारी एवम् सदस्यहरूलाई महिला सङ्घकी केन्द्रीय अध्यक्ष उषा मिश्राले शपथग्रहण गराउनुभएको थियो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम्  पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले पार्टीमा महिला सङ्घको इतिहासदेखि वर्तमान अवस्थासम्म महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । नेपाली काँग्रेसका नेता एवम् सङ्घीय सांसद बिनोद चौधरीले  स्थानीय तह, प्रदेश र केन्द्रीय तह सम्म  महिलाको उचित व्यवस्थापनका लागि  पार्टीले पहल गर्नुपर्नेमा जोड दिनुभयो  ।

महिला सङ्घकी केन्द्रीय अध्यक्ष उषा मिश्राले पार्टीले हरेक तहमा महिलालाई सबै स्थानमा उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

महिला सङ्घकी सभापति तारादेवी भण्डारीको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको प्रमुख  आथित्यता यसैगरी पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य विनोद चौधरी विशेष आथित्यतामा सम्पन्न भएको थियो  ।