मंगलबार ११ असार, २०८१

नेपाली समय

घरआँगनको ‘नावर’ नै छठी घाट

घरआँगनको ‘नावर’ नै छठी घाट

महोत्तरी, ४ मङ्सिर । यसपालीको छठमा महोत्तरीका कैयौँ बस्तीका सर्वसाधारण वर्तालुले घरआँगनमै ‘नावर’ (गाईबस्तुलाई पानी र खाना ख्वाउन बनाइएको सिमेन्टको एकप्रकारको भाँडो) मा पानी भरेर व्रत सम्पन्न गरेका छन् । बस्ती नजिकैका पोखरी/तलाउ, नदी र खोल्साखोल्सीमा पानीको अभावमा  घरआँगनमै ‘नावर’ मा पानी भरेर व्रतविधि सम्पन्न गर्नुपरेको हो ।

“के गरौँ ? नजिकैका पोखरी र पानीका डबरा यसपाली छठअघि नै सुके, नजिकको रातु नदीमा पनि पानी छैन, त्यसैले घरमै नावरमा पानी भरेर त्यसैमा चोवलिएर स्नान र अघ्र्य विधि सम्पन्न ग¥यौँ” बर्दिबास –२ की श्यामा चौधरीले भन्नुभयो । सोही वडाका लच्का, ओमशान्तिचोक र बुद्धचोकका वर्तालुले पनि नावरमै पानीघाट बनाइ व्रत सम्पन्न गरेका हुन् ।

“बितेका वर्षमा सडकछेउको कुलोमा पानी चलाएर पूरै बस्तीका वर्तालुले सडक वारीपारी नै छठघाट बनाएका थियौँ तर यसपालि रातु नदी पहिल्यै सुकेकाले कुलो राम्रो चलेन, त्यसैले नावरमै पानीघाट बनाएर पर्व सम्पन्न ग¥यौँ” पछिल्ला १५ वर्षदेखि छठ व्रत बस्दै आउनुभएकी दर्लामीटोलकी पवी रेग्मीले भन्नुभयो, “खै अब त पर्व मनाउन पनि पानीको सङ्कट पर्दैगयो, अझै पछिपछि के के व्यहोर्नुपर्ने हो ?”

बर्दिबास–१४ को बर्दिबास–औरही–जलेश्वर सडक वारिपारीका बासिन्दाले पनि नावरमै पानीघाट बनाएर पूजा गरे । यसैगरी हाथीलेट, विजलपुरा, पशुपतिनगर, मनहरिपुर, कृष्णपुर, किसाननगर, चौलिखा, पूmलबारीटोल र प्रेमनगरसहितका छठ मनाउने वर्तालुलाई नावर नै पानीघाट बन्यो । बर्दिबासमात्र नभएर भङ्गाहा नगरपालिकाका रामनगर, प्रेमनगर, धतियाटोल, भूचक्रपुर र राजपुरसहितको बस्तीमा पनि यसपालि पानीघाटका लागि नावरलाई  नै  प्रयोगमा ल्याइएको भङ्गाहा–४ रामनगरका सामाजिक कार्यकर्ता गङ्गाराम महतोले बताउनुभयो।

गौशाला नगरपालिका क्षेत्रका भरतपुर, बटुवा, लक्ष्मीनियाँ, इमलीबजार, कालीपुर र पडरियासहित बस्तीका वर्तालुले घर आँगनकै इनार, धारा छेउमा पानी जम्मा गरेर व्रत सम्पन्न गरे । पानीका स्रोत नदी, पोखरी÷तलाउ र खोल्साखोल्सीमा पानी सुकेर र जताततै फोहरको डङ्गुर  थुप्रिदा घरआँगनमै पानीघाट बनाएर पर्व सम्पन्न गर्नु परेको व्रत बसेकाहरूको भनाइ थियो ।

छठपर्वमा जलाशयको ठूलो महत्व हुन्छ । पोखरी वा नदीमा दह झैंँ बनेको कम्मरसम्म डुब्ने पानीमा चोबलिएर सूर्यदेवलाई अघ्र्य दिने परम्परा चल्दै आएको हो  तर पछिल्ला केही वर्षयता नदीमा पानी बग्न छाडेको, पोखरी/तलाउ सक्दै गएको र कतै फोहर थुपारिएर दुर्गन्धित बनेकाले परम्परा थेग्न अब ‘नावर’ र इनार छेउमा बनाइएका खोबिल्टाको भर पर्नुपरेको उनीहरूको गुनासो थियो । 

प्रकृति पूजाको छठ परम्परा अब केही वर्षपछि घरघरका धारा वा स्नानघरमा पुग्ने चुरे तथा जलाधारविज्ञहरुले बताए । खासगरी मधेशको शिरमा रहेको चुरे पर्वत र यसका श्रेणी  एवम् नदीक्षेत्रमा बढ्दो अनियन्त्रित उत्खनन् र वनजङ्गलको विनासले पानीका मुहान सुक्दै जाँदा यो सङ्कट बढेको चुरे विज्ञ डा. विजयकुमार सिंहले बताउनुभयो  ।

“अब झनझन् पानीको सङ्कट बढ्ने देखिन्छ, चुरे पाहाडका थुम्का, नदी, नदीउकास जग्गा र वनजङ्गल क्षेत्रमा बढेको अनियन्त्रित उत्खनन्ले पानी रसाउने ठाउँ पुरिएर सुख्खा भएका छन्, यो विनाशले सन्तुलित वर्षा हुन छाडेको छ” चुरेबारे विद्यावारिधि गर्नुभएका डा सिंहले भन्नुभयो, “यी सम्पदा (चुरे पाहाड, नदी, नदीउकास जग्गा र वनक्षेत्र) माथि हुने अनियन्त्रित दोहन नियन्त्रण नगरिए अब छठ मनाउनेमात्र होइन, घरघरै खानेपानीकोसङ्कट पनि बढ्नेछ ।’’

पानीको स्रोत संरक्षण गर्नाको साटो मानिसको लापरबाहीले प्राकृतिक असन्तुलन बढ्दै गएको उहाँको गुनासो थियो । “अत्यन्त उर्वर मानिएका मधेशका जग्गा अब पानीको अभाबमा मरुभूमि बन्दैछन्, उर्वर जग्गामा उत्खनन् गर्दा गेगग्रान (स–साना ढुङ्गा मिसिएको बलौटो) थुप्रदैछ” डा सिंहले भन्नुभयो, “अब यसको संरक्षणमा ध्यान नदिए दैवी बिपत्ति व्यहोर्न  बाध्य हुनुपर्नेछ ।”

पछिल्ला समयमा सडक, बिजुली र अन्य विकास निर्माणका नाउँमा पनि जथाभावी पाहाड खोस्रने, थुम्का ढाल्ने र कान्ला भत्काउने क्रम बढ्नाका साथै विकास निर्माणका नाममा नदी, नदीउकास जग्गा र वनक्षेत्रका पर्ति जग्गा उत्खनन् गरेर बालुढुङ्गा निकाल्ने क्रम बढ्दै आएको उहाँको गुनासो थियो ।