मंगलबार ०४ असार, २०८१

नेपाली समय

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ

वीरगञ्ज (पर्सा), ४ मङ्सिर । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ सकिएको छ । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका ब्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिएको हो । छठ पर्वका लागि दुल्ही झैँ सिँगारिएको वीरगञ्जसहित तराई–मधेसका अधिकांश पोखरी, ताल तलाउ, खोला र नदीमा श्रद्धालुहरुको घुइँचो लागेको थियो । 

चार दिनसम्म मनाइने छठ पर्व कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु भई कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न भएको पण्डित रामकुमार शास्त्रीले बताउनुभयो । छठ पर्वको पहिलो दिन ‘नहाय खाय’ विधि मनाइन्छ । मिथिलाञ्चलवासीका लागि प्रमुख पर्वमध्ये छठ पर्व पनि एक मानिन्छ । जसरी दीपावलीको तयारी १५ दिनअघिदेखि सुरु हुने गर्दछ त्यसरी नै छठ पर्वको तयारी पनि एक हप्ता पहिलेदेखि नै सुरु हुने गर्दछ । 

यो पर्वमा खासगरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । त्यसले गर्दासमेत यस पर्वको परम्परालाई उक्तरुपले नै देखिन्छ । गरिब, धनी, दलित एवं उँचनिचको ख्याल नगरी यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउने गरेका छन् । 

सूर्य देवतालाई पहिलो दिनको अर्घ्य अर्पण गरिन्छ जसलाई मैथिली भाषामा ‘सझुँका अर्घ्य’ भनिन्छ । सूर्य देवतालाई खास गरी उक्त दिन अर्घ्य दिइने गरिन्छ जुन दिन उदयकालमा केहीबेरका लागि भए पनि षष्ठी तिथि परेको होस् ठीक त्यसैअनुरुप उदयकालमा दिइने अर्घ्यका लागिसमेत त्यही विधि अपनाइन्छ र उक्त दिन पनि सप्तमी तिथि नै रहेकाबेला ‘भोरका अर्घ्य’ दिइन्छ । 

छठ पूजामा जुन सामग्री साँझको समयमा सूर्य देवतालाई प्रसादका रुपमा अर्घ्य अर्पण गरिन्छ उक्त प्रसाद नै पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घ्य’ मा दिइने परम्परा छ । सूर्य देवतालाई अर्पण गरिएको प्रसाद साँझदेखि बिहानसम्म जलाशयमा बनाइएको घाटमा नै राखिन्छ तर केही स्थानमा नदीमा अचानक आउने बाढी, जनावर वा असुरक्षाका कारण घाटबाट प्रसाद घर लगिन्छ र बिहानपख सूर्य उदाउनुभन्दाअगावै पुनः त्यो प्रसाद घाटमा ल्याई छठ पर्व मनाइन्छ । छठ व्रत गर्ने सबैजना चौठी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भई ‘अर्वाअर्वाइन’ खाने गर्दछन् । 

यही तिथिका दिनदेखि छठ पर्व औपचारिकरुपमा प्रारम्भ हुने गर्दछ । यसदिन व्रत गर्ने महिला र पुरुष नुहाई धुवाइ गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन खाने गर्दछन् । कार्तिक शुक्ल पञ्चमी तिथिका दिनभरि पर्व गर्ने व्रतालु उपवास गर्ने गर्दछन् । उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चुलोमा नयाँ माटोको भाँडामा अर्वा चामलको खीर बनाउने गरिन्छ । सख्खर हालेर बनाइएको खीर देवी देवतालाई प्रसादका रुपमा चढाइन्छ र उक्त प्रसादस्वरुप खीर व्रतीका साथै घरका अन्य सदस्यहरुले ग्रहण गर्ने गरेको पण्डित शास्त्रीको भनाइ छ । 

कार्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिला अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् भने पुरुषले सूर्य देवतालाई अर्घ्य अर्पण गर्ने समयसम्म पोखरी, तालतलैयामा हातमा नरिवल वा अन्य फलफूल लिइ उभिरहेका हुन्छन् । साँझको समयमा घण्टौँसम्म जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिंगारा, फलफूल, पान, सुपारी, धूप, दीप लगायतले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने चलन रहेको छ ।  

पुराणका अनुसार प्रकृति देवीको एक प्रधान अंशलाई देवसेना भनिन्छ जुन की सबैभन्दा श्रेष्ठ मातृका मानिन्छ । माता सृष्टी सम्पूर्ण जीवको रक्षिका देवी हुनुहुन्छ । प्रकृतिको छैठौँ अंश भएका कारण उहाँको नामसमेत षष्ठी छ ।

षष्ठी देवीको पूजनको प्रचार प्रसार ब्रह्मवैवर्त पुराणका अनुसार राजा प्रियव्रतककालदेखि आरम्भ भएको मानिन्छ । यस कारण छठीमाता भन्ने मिथिलाञ्चलमा परम्परा रहेको छ । हुनतः केहीले सूर्यको माता भनेरसमेत षष्ठी देवीको पूजा गर्छन् । छठको पौराणिक महत्व लङ्का विजयपछि रामराज्यको स्थापनाका दिन कार्तिक शुक्ल षष्ठी तिथिका दिन भगवान् राम र माता सीता उपवास गरेर सूर्यदेवको आराधना गरेको मान्यता छ ।

सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशिर्वाद प्राप्त गरेकाले छठ पर्वको आरम्भ यसैदिनदेखि भएको मानिन्छ । ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यलाई मानिन्छ । यसै कारणले गर्दा हिन्दू शास्त्रमा सूर्यलाई प्रत्यक्ष देवताका रुपमा मानिएको छ । 

अर्को मान्यताका अनुसार छठ महाभारतकालदेखि सुरु भएको मानिन्छ । छठ पूजाको सुरुआत सूर्य पुत्र कर्णले गरेको मानिन्छ । कर्ण भगवान् सूर्यको परम भक्त थिए । उनी हरेक दिन जलमा उभी सूर्यलाई अर्घ्य दिने गर्दथे । सूर्यको कृपाले उहाँ महान् योद्धा बन्न सफल भएको विश्वासमा पनि आधारित छ । महाभारतमा सूर्य पूजाको अर्को वर्णनसमेत पाइन्छ । पाण्डव पत्नी द्रौपदीले आफ्नो परिजनको उत्तम स्वास्थ्यको कामना र दीर्घायुका लागि नियमित सूर्य पूजा गर्ने गरेको महाभारत पुराणमा उल्लेख छ ।