शनिबार २२ मंसिर, २०८१

नेपाली समय

विश्व हिन्दू परिषद् नेपालले श्रीमद् गौरपुराण ज्ञान महायज्ञ गर्ने, भोलि शोभायात्रा

विश्व हिन्दू परिषद् नेपालले श्रीमद् गौरपुराण ज्ञान महायज्ञ गर्ने, भोलि शोभायात्रा

गोदावरी (ललितपुर) ३ मङ्सिर । विश्व हिन्दू परिषद् नेपालले यही मङ्सिर ४ गतेदेखि गौमाताको शोभायात्रा गर्ने भएको छ । 

शङ्खमूलस्थित बागमती प्रादेशिक सम्पर्क कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा विश्व हिन्दू परिषद् नेपालका अध्यक्ष देवराज अधिकारीले वर्तमान परिस्थितिमा गौमाताको महत्व अझ सक्रियरूपमा जनजनमा पुर्याउनुपर्ने आवश्यकता भएको भन्दै यहीँ मङ्सिर ४ देखि ११ गतेसम्म गौमाताको शोभायात्रा निकाल्न लागिएको जानकारी दिनुभयो ।

गोपाष्टमीको शुभ मुहूर्तमा श्रीमद् गौरपुराण ज्ञान महायज्ञको आरम्भ गरी मङ्सिर ११ गते समापन हुने कार्यक्रममा पहिलोपटक नेपाली भाषामा गौपुराणको किताब प्रकाशन गरी जनसमक्ष पुर्याउने उहाँले बताउनुभयो । “यो कार्यक्रमपश्चात ७७ वटै जिल्लामा गौ पुराणको आयोजना गरी अधिराज्यभरि नै गौपाल, गौसेवा तथा गौ महत्वका बारेमा जनचेतना गराउने उद्देश्य र लक्ष्य हामीले राखेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो ।