बिहीबार २२ कात्तिक, २०८१

नेपाली समय

बाराको तस्करलाई पर्सामा लाईन; डिआईजीको संरक्षणले डिएसपी र इन्स्पेक्टरलाई बहार

बाराको तस्करलाई पर्सामा लाईन; डिआईजीको संरक्षणले डिएसपी र इन्स्पेक्टरलाई बहार

बीरगन्ज, २ मङ्सिर । पछिल्लो समय बारा जिल्लाको सिमानाकाबाट तस्करी गर्दै आएका नामुद कपडा तस्कर अहिले पर्साको सिमानाकाबाट तस्करी गर्न सक्रिय भएका छन् । 

बाराको जितपुरसिमरा घर बताउने सरोज अहिले पर्साको अमरपट्टि, प्रसौनिभाठ्ठा लगायतको सिमानाकाबाट तस्करी गर्न सक्रिय भएका छन् । भारतसँग जोडिएको पर्साको अमरपट्टी, प्रसौनिभाठ्ठा नाका भएर सरोज भन्ने सहित अन्य दर्जन तस्कर कपडा तस्करी गर्न लाइन पाएर खुलेआम तस्करी गरिरहेका छन् । 

यस सीमा क्षेत्रको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल बिओपी अलौ-कोनियाका इन्चार्ज डिएसपी प्रदिप थापा, बिओपी अमरपट्टीका इन्चार्ज इन्स्पेक्टर धर्मराज पाण्डे तथा बिओपि प्रसौनीभाठ्ठाका इन्चार्ज इन्स्पेक्टर सन्तोष न्यौपाने लगायतको मिलेमतोमा सो नाकाहरूबाट तस्करी भइरहेको पाइएको छ । 

कपडा तस्कर सरोज भन्नेले सो नाकाहरूबाट प्रत्येक दिन ४/५ वटा मोटरसाइकलमा भन्सार  छली गरी भारतबाट आयात गर्ने कपडा बिन्दबासिनी, डोकैला बहुवरी हुँदै जितपुर सिमर लग्ने गरेको बताइन्छ । भने, सोही नाकाहरूबाट अशोक, बिनोद, सरफ्देव, राजु, मुन्ना लगायतका तस्करहरू पनि मोटरसाइकलबाट नै कपडा तस्करी गर्दै आएका छन् ।

राती भएदेखि बिहानको उज्यालो नभइन्जेल बिचको समयमा यिनीहरूले भित्र्याउने कपडा बहुदरमाई-७ फुलकौल घर भएका अशोकको संरक्षणमा एक घरमा राखेर बिहान र दिउसो गरी बिश्रामपुर, डोकैला बहुवरी लगायतको ठाउँमा सञ्चालित कपडा पसलहरूमा जाने गरेको बताइन्छ । 

खुल्ला सिमानाकाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रहरूमा सशस्त्र प्रहरीको संरक्षणमा यी कपडा तस्करहरूको रजगज अहिलेको मात्र होइन । नामुद तस्कर सरोज करिब एक महिना देखि सो नाकाहरूबाट तस्करी गर्न लाइन पाएका छन भने अशोक, बिनोद, राजु, मुन्ना लगायतका तस्करहरूको अमरपट्टी, प्रसौनिभाठ्ठा नाकाबाट तस्करी गर्ने बर्सेनि रजगज रहने गरेको स्थानीय व्यापारीहरू बताउँछन् । 

सरकारको आम्दानीले साधारण खर्चै नधानिने, कर्मचारीले तलबै नपाउने अवस्था आउने त हैन भन्ने आशङ्का गरिराखिएको बेला आम्दानीको प्रमुख स्रोत राजश्व सङ्कलनमा योगदान दिने विभिन्न निकाय मध्येको एक सशस्त्र प्रहरी  सङ्गठनका यी जिम्मेवार डिएसपी थापा, इन्स्पेक्टरद्वय न्यौपाने, पाण्डेमाथि सशस्त्र प्रहरी मधेश प्रदेशका डिआइजी दिपेन्द्र शाहको संरक्षण रहेकोले खुल्लासिमानाकाको फाइदा उठाउँदै तस्करी गराइरहेको स्रोतले जनाएको छ । तस्करीमा डिआइजी शाहको संलग्नता रहे नरहेको अन्याैल रहेपनि ती सीमानाकाहरुबाट तस्करीको लाइन दिने ती प्रहरी अधिकारी भने डिआइजी शाहका नजिकका मानिने बताइन्छ । 

पर्साको ती सिमानाकाको बिओपीहरुमा आउने इन्चार्जलाई माथिल्लो प्रहरी अधिकारी समेतलाई नजराना बुझाउनु पर्ने हुँदा बर्दिको आडमा तस्करहरूको साट्घाटमा निर्धक्कताका साथ तस्करी गराइरहेको स्रोतको दाबी छ ।

यस विषयमा डिआइजी शाहसँग कुरा गर्न खाेजेपनि सम्पर्क हुन सकेको छैन ।

सशस्त्रका डि.एस.पी. थापा, इन्स्पेक्टरद्वय पाण्डे, न्यौपाने लगायतकाले भने तस्करी नभएको दाबी गरेका छन् । पर्साको ग्रामीण भेग डोकैला बहुवरी, बिश्रामपुर, बिन्दवासिनी लगायतको ठाउँमा सञ्चालित कपडा पसलहरूमा अनुगमन भए तस्करी भएर भित्रिएको कपडाको पर्दाफास हुने देखिन्छ तर यस विषयमा सम्बन्धित निकायको ध्यान गएको छैन ।