शनिबार २६ असोज, २०८१

नेपाली समय

कविता: फूल र दिल

कविता: फूल र दिल

एउटा फूल फुल्छु भन्छ 
तर मलजल कहाँ पाउने र ?
दुईटा दिल मिल्छु भन्छन् 
तर छलफल कसरी गर्ने र ?

मलजल नपाएरै
फूल सायद ओइलाउँछ होला,
छलफल नभएरै 
दिल सायद बहुलाउँछन् होला ।

त्यसैले म त भन्छु
यो लोकतन्त्र र खुलातन्त्रमा
मलजल सहित फूल फुल्नुपर्छ
अनि यो नवीन वातावरणमा
छलफल सहित दुई दिल मिल्नुपर्छ ।

फूलले आफ्नो सुगन्ध लुकाए जस्तै
दिल एक अर्काले झुकाउनु पर्छ
अनि मात्र यहाँ नयाँ सृष्टि हुन्छ
त्यही दिलको सृष्टिमा
फूलले आफ्नो बासना छर्छ
तब त दिलको फूल र दिलको दिल
एकाकार हुन्छ 
अन्ततः अनवरत घुमिरहन्छ
यो पृथ्वीको घुमाइसँगसँगै ।

– कविः नारायण जोशी
(अनुमती लिएर “यो कविता यात्रा” शीर्षकको कविता संग्रहबाट साभार)