शुक्रबार २३ कात्तिक, २०८१

नेपाली समय

रामग्राम वडा नं. ९ पिपरहियामा सडक मापदण्ड विपरीत निर्माण भइरहेको भन्दै काम रोक्न स्थानीयको माग

रामग्राम वडा नं. ९ पिपरहियामा सडक मापदण्ड विपरीत निर्माण भइरहेको भन्दै काम रोक्न स्थानीयको माग

परासी, ११ असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा निर्माणाधीन  सडक मापदण्ड विपरीत निर्माण भइरहेको भन्दै स्थानीयले विरोध गरेका छन् ।रामग्राम  नगरपालिका वडा नं.९ स्थित पिपरहियामा निर्माणाधीन सडक मापदण्ड विपरीत निर्माण भइरहेको र अनियमितता गर्न खोजिएको  भन्दै स्थानीयले विरोध गरेका हुन् ।

नगरपालिकाले तोकेको मापदण्ड विपरीत सडक निर्माण गरी अनियमितता गर्न खोजिएको वडा न ९ स्थानीयवासीले आज नगरपालिकाको ध्यानाकर्षण पनि गराएका छन । नगरपालिकाले तोकेको मापदण्ड भन्दा घटाएर बाटो निर्माण गरी अनियमितता गर्न खोजिएकोले विरोध जनाउनुपरेको स्थानीयवासी चन्द्रभुषण पाठकले बताए ।

पाल्ही क्याम्पस देखि जोकवार–पिपरहिया–करमैनी हुँदै पाल्हीनन्दनको सीमासम्मको सडक खण्ड अन्तरगत पिपरहिया चोकदेखि करमैनीसम्मको सडक मापदण्ड विपरीत निर्माण भइरहेको उनले जानकारी दिए ।

उनले स्थानीयवासीहरुले रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालमार्फत नगर प्रमुखको ध्यानाकर्षण गराउँदै निर्माणाधीन सडक तत्काल रोक्का गरी मापदण्ड बमोजिम निर्माण गर्न माग गरिएको बताए ।

सडक खण्ड नगरको मापदण्ड अनुसार पचास फिटमा बन्नुपर्नेमा अहिले १८ फिटमा मात्र निर्माण भइरहेको स्थानीयले बताएका छन् ।

तीन वर्ष अघि वडाका जनप्रतिनिधि, नगरका प्रतिनिधि तथा स्थानीयवासीबीच भएको सहमति अनुसार उक्त सडक खण्डमा बस्ती क्षेत्रमा ३५ फिट र अन्य क्षेत्रमा पचास फिटमा सडक निर्माण गर्ने सहमति भए पनि त्यो अनुसार कार्यान्वयन नभएकोले दीर्घकालमा समस्या नमिठ्योस् भनेर स्थानीयवासी अहिले नै सचेत हुनुपरेको पाठकले  बताए ।

उक्त सडकको चौडाई र उचाई नबढाउँदा वर्षातको समयमा पानी जम्मा भएर अहिले गरिने कालोपत्रे समेत भत्कने जोखिम भएकोले समयमै मापदण्ड अनुसारको बाटो निर्माण गर्न नगरपालिकाको ध्यानाकर्षण गराइएको स्थानीयले बताएका छन् ।

रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले सडक मापदण्ड अनुसार बनाउन जनप्रतिनिधिसँग समन्वय गर्ने बताए ।