गलेश्वर(म्याग्दी), १ असोज । नदी तटीय क्षेत्रलाई मानव सभ्यताको उद्गम स्थल मानिन्छ । नदीहरुमध्ये पनि धार्मिक र आर्थिक दृष्टिले समेत अत्यन्त महत्त्वपूर्ण मानिएको शालिग्राम शिला पाइने संसारकै एकमात्र नदी कालीगण्डकीको संसारभरी महत्त्व रहेको छ ।
यति महत्त्वपूर्ण मानिएको कालीगण्डकी नदीको अस्तित्व नासिँदै जाँदा यो नदीसँग जोडिएको ‘जल’ सभ्यता पनि सङ्कटमा पर्दै जान थालेको छ । मानवीय लापर्बाही, नदीको दोहन र प्राकृतिक प्रकोपका कारण कालीगण्डकी कुरुप बन्दै गएको हो ।
कालीगण्डकीको महत्त्व विभिन्न धार्किक ग्रन्थहरुमा उल्लेख गरिएको छ । सबैभन्दा पुरानो मानिएको ऋग्बेदका अनुसार ‘ऋषि त्रिशिरा त्वाष्ट्र देवता आपो देवता, गायत्री आपो हि ष्ठा मयोभुवस्ता न ऊर्जे दधातन । महे रणाय चक्षसे । अर्थात् हे जलदेवता ! तिमी सुखका मूल स्रोत हौ, हामीलाई पराक्रमले युक्त उत्तम कर्म गर्नका लागि पोषक रस प्रदान गर ।’ यस मन्त्रमा जललाई पराक्रम, उत्तम कर्म र सुखका लागि पोषण प्रदान गर्ने भनिएको छ । यसरी कालीगण्डकीको जलसँग सभ्यता जोडिएको छ ।
त्यसैगरी ऋग्वेदको अर्को ऋचामा ‘यो वः शिवतमो रसस्तस्य भाजयते नः । उशतीरिव मातरः । अर्थात् हे जलदेवता ! हामीलाई अत्यन्त पोषक रस सेवन गर्न देऊ, आमाले आफ्ना दुधले बच्चालाई पोषण दिएझैं हामीलाई तिमी पोषित गर ।’ यहाँ जल र मानिसको सम्बन्ध आमा तथा बच्चाको जस्तो भएको भनिएको छ । जलसँगै आमाको महत्त्व दिइएको छ ।
कालीगण्डकी केवल पानीले निकास खोज्दै उँधोतिर बगेको नदीमात्र होइन, यो सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्त्वपूर्ण धरोहर हो भन्ने कुरा विर्सदा कालीगण्डकीको सभ्यता सङ्कटमा पर्दैगएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । राजा भरतले तपस्या गरेको पवित्र भूमि र भगवान् विष्णुका पाउले कुल्चिएको पावन भूमिमा बगेको कालीगण्डकी हजारौँ वर्षको मानव चेतनासँग गहिरोसँग अन्योन्याश्रित सम्बन्ध रहेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
पछिल्लो समय गैरकानुनी रुपमा कालीगण्डकीको दोहन बढिरहेको र अतिक्रमण गरेर आफूखुसी प्रयोग भइरहेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । विश्वकै एकमात्र शालिग्राम पाइने नदीका रुपमा यसको बेग्लै पहिचान बनेको छ । हिन्दूहरुको शव कालीको किनारमा दाहसंस्कार गर्दा मृत्युपछि राम्रो हुने जनविश्वास अहिले पनि रहेको क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीको भनाइ छ ।
कालीगण्डकीको महिमा यतिमै मात्र सीमित रहदैन । कालीगण्डकी शालिग्राम पाइने पवित्र नदी मात्र नभएर पशु, पंक्षी, किट, पतङ्गदेखि लिएर मानव जातीलाई समेत सेवा पु¥याएको प्राकृतिक सेवक पनि भएको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो । “कालीगण्डकीको धार्मिक महत्त्व त अवर्णनीय छ नै, यसको जैविक, सांस्कृतिक र मानवीय दैनिकीसँग गाँसिएको महत्त्व पनि कम छैन”, पण्डित पराजुलीले भन्नुभयो ।
त्यसैगरी राष्ट्रकवि स्व माधवप्रसाद घिमिरेले पनि कालीगण्डकी शालिग्राम कुद्ने विश्वकै एकमात्र नदी भएको उल्लेख गर्दै लेख्नुभएको छ,
“माछापुच्छ्रे गिरी शिखरको पारमा मुक्तिक्षेत्र
बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम
काली गङ्गा भनन कसरी कुद्दछ्यौँ सालिग्राम ?”
शालिग्राम कुद्ने विशिष्ट बरदान पाएको पवित्र नदी कालीगण्डकीको भौतिक अस्तित्वमाथि विकासका नाउँमा मानवीय प्रहार हुन थालेपछि पवित्र नदी कालीगण्डकीको सभ्यता र अस्तित्व दुवै सङ्कटमा परेको कालीगण्डकी बचाउ अभियानका अभियानकर्मी सागरजीवि उपाध्यायले बताउनुभयो ।
ऋकवेदमा ‘ईशाना वार्याणां क्षयन्तीयार्षणीनाम् अपो याचामि भेषजम् अर्थात् जल प्रवाह मानिसको इच्छित पदार्थको स्वामी र सम्पूर्ण प्राणीको आश्रयदाता हो । हामी जलबाट औषधिमा जीवनरसको कामना गर्दछौँ’ भनिएको छ । यसले पनि जल सभ्यता के हो भनेर बुझ्न सकिने पं पराजुलीले बताउनुभयो ।
पं पराजुलीले भन्नुभयो, “नदी मानवजातिको सभ्यता र विकासको आधार हो, मानवसभ्यताको विकास नदी किनारमा नै बढी भएको छ, नदीहरू जलस्रोत हुन्, जीवनका लागि र जीवनपछि पनि जलको महत्त्व रहेको छ, नदी/जल हाम्रा धार्मिक, आध्यात्मिक, सांस्कृतिक, आर्थिक उन्नतिका आधार हुन्, हाम्रो स्वास्थ्य र दिनचर्या जल—पानीमा आधारित छ, आर्थिक समृद्धिका लागि जल र जलसँग सम्बन्धित उद्यम, उपक्रममा अझ जोड दिन आवश्यक छ ।” ती सबै नदीहरुमध्ये कालीगण्डकी नदीको विशिष्ट महत्त्व रहेको उहाँको भनाइ छ ।
कालीगण्डकीको मुक्तिनाथदेखि देवघाटसम्मको क्षेत्र अत्यन्त पावन क्षेत्र मानिन्छ । यसबाट हजारौँ हेक्टर भूमि सिञ्चित भएको छ । कालीलाई थुनेर ठाउँठाउँमा विद्युत् ऊर्जा निकालिएको छ । नेपालकै सबैभन्दा ठूलो भनेर चिनिने कालीगण्डकी हाइड्रोपावर पनि यसै नदीमा रहेको छ । पछिल्लो समय कालीगण्डकी तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाका कारण कालीगण्डकी चर्चामा छ ।
बुटवल, भैरहवा, रुपन्देही, कपिलवस्तुलगायतका क्षेत्रमा कालीगण्डकीको पानी पु¥याएर सिँचाइ, जलविद्युत् र अन्य प्रयोजनका लागि लाभान्वित गर्ने बृहत् उद्देश्यका साथ डिजाइन गरिएको राष्ट्रिय आयोजनाका रुपमा यस आयोजनालाई लिइएको छ ।