मंगलबार २२ असोज, २०८१

नेपाली समय

युवा उद्यमशीलता शिखर सम्मेलन: समन्वयको अभावले युवाका मुद्दा समाधानमा कठिनाई

युवा उद्यमशीलता शिखर सम्मेलन: समन्वयको अभावले युवाका मुद्दा समाधानमा कठिनाई

काठमाडौँ, ३० भदौ । सरोकारवालाले युवाका नीति बने पनि कार्यान्वयनमा समस्या रहेकोले युवाका क्षेत्रमा काम हुन नसकेको बताएका छन् । 

राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्च्यिुटले आज संयुक्त रूपमा आयोजना गरेको ‘तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन–२०८०’ को ‘वर्तमान आर्थिक चुनौती र उद्यमशीलताको मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरूले युवाका क्षेत्रमा धेरै नै नीति बने पनि कार्यान्वयनमा समस्या भएको बताउनु भएको छ । 

राष्ट्रिय योजना आयोजक उपाध्यक्ष डा. मीनवहादुर श्रेष्ठले १६ औ पञ्चवर्षीय योजना बनाइरहेको र उक्त योजनामा बाहिर भएका युवालाई नेपाल फर्काउने कार्यक्रम बनाइरहेको बताउनुभयो । 

उहाँले युवाहरूलाई उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण कर्जा उत्पादन नबढेकोले कर्जा रोक्नुपरेको बताउनुभयो । 

“सहुलियतपूर्ण कर्जा गयो । तर उत्पादन र रोजगारी पनि बढेन । त्यसैले हामीले अहिले रोकेको छौ,” उहाँले भन्नुभयो । 

कार्यक्रममा उद्योग तथा वाणिज्य मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नीति ल्याए पनि कार्यान्वयनमा समस्या भएकोले युवाको मुद्दा समाधान गर्न नसकिएको बताउनुभयो । 

उहाँले युवाका समस्या युवासँग बसेर छलफल गर्न सके युवाका क्षेत्रमा धेरै नै अगाडि बढ्न सकिने धारणा गर्नुभयो । 

उहाँले उद्यमशील हुन तयार रहेका युवालाई सरकाले सहयोग गर्न तयार रहेको बताउनुभयो । 

सचिव मरासिनीले स्टार्टअप सम्बन्धी कार्यविधि सबै निकायमा पुर्‍याइरहेको भन्दै संशोधनको हुन नसकेर कार्यविधिलाई जारी गर्न नसकेको बताउनुभयो । 

उहाँले पाँच महिना हुँदा पनि कार्यविधि बन्न नसकेर युवाका क्षेत्रमा काम गर्न नसकेको बताउनुभयो । 

उहाँले अन्तरनिकाय मन्त्रालयबीच समन्वय नहुँदा युवाका समस्यालाई सम्बोधन गर्न नसकिएको बताउनुभयो । 

नेपाल बैंकर एसोसिएसनका अध्यक्ष सुनिल केसीले लगानी गरेको ऋण उठ्ने निश्चित हुनुपर्ने बताउनुभयो ।

उहाँले आफूहरू पनि युवाका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको भन्दै तर लगानी नउठ्ने कि भन्ने जोखिम रहेकाले केही बैङ्कहरू उद्यमशीलतामा लगानी गर्न डराएको बताउनुभयो । 

“ऋण फर्कन सक्ने अवस्थामा हामी लगानी गर्दछौ । व्यापारीलाई सफल बनाउने के गर्न सकिन्छ त्यो गर्न हामी तयार रहेका छौ, ” उहाँले भन्नुभयो । 

उहाँले जनयुद्ध, भूकम्प र कोरोना भाइरसले गर्दा बैङ्कलाई समस्या परेको भन्दै उद्यमका  अगाडि बढ्न चाहने युवालाई बैङ्कले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष भवानी राणाले उहाँले  अहिलेका युवा धेरै क्रियटिभ रहेको भन्दै नीति नियमको परिमार्जन गरेर युवालाई उद्यमशीलता बनाउन आवश्यक रहेको भनाई राख्नुभयो । 

उहाँले सरकारले युवाका लागि ल्याइएको योजनामा राजनीतिकरण भइरहेको भन्दै त्यसलाई रोक्नुपर्ने भनाई राख्नुभयो ।

कार्यक्रममा उद्योगी पवन गोल्यानले स्थानीय तहसँग मिलेर युवालाई उद्यमशीलता बनाउनुपर्ने बताउनुभयो । “किसानले दुःख गरेर उत्पादन गर्दछ तर बेच्न सक्दैन । किसानले  उत्पादन गरेको खाद्यवस्तुलाई बेच्ने वातावरण सरकारले बनाइदिनुपर्दछ,” उहाँले भन्नुभयो ।

उहाँले सरकारले उद्योग खोल्नका लागि अप्ठ्यारो पार्न नहुने भन्दै बैङ्कले फाइदाको निश्चित प्रतिशत कृषिमा लगानी गर्नुपर्ने बताउनुभयो । 

उहाँले सबै नेपाली नेपालमा उत्पादन गरेको खानेकुरा खानुपर्ने भनाई राख्नुभयो । 

रिटर्नी माइग्रेशनका अध्यक्ष लक्ष्मीप्रसाद आचार्य, युवा शंकर उपाध्याय, मानवहादुर धनहामगर, तीर्थराज ढुङ्गेल, नारायण गिरि, आरती शर्मा लगायतले युवालाई सहज रूपमा ऋण उपलब्ध गराउनुपर्ने बताउनुभयो ।