बुधबार ०२ माघ, २०८१

नेपाली समय

मद्रसा शिक्षा ऐनबारे विचार गाेष्ठी

मद्रसा शिक्षा ऐनबारे विचार गाेष्ठी

इनरुवा, ३१ जेठ । अल हेरा एजुकेशनल साेसाइटीले मुस्लिम समुदायमाझ छलफलका लागि मस्यौदा गरेको मद्रसा शिक्षा विधेयक, २०८० माथि काेशी प्रदेशका मुस्लिम बुद्धिजीवीहरूले प्रारम्भिक छलफल गरेको छ । अभियन्ताद्वय डा. खालिद हुसेन हक र पूर्वमन्त्री माेहम्मद जाकिरहुसैनकाे पहलमा यो छलफल प्रारम्भ भएको हो ।

बैठकको अध्यक्षता गर्दै डा. खालिद हुसेन हकले मदरसा शिक्षालाई व्यवस्थित र गुणस्तरीय बनाउन यसको सम्पूर्ण व्यवस्थापनमा सुधारको आवश्यकता रहेको बताए । पूर्वमन्त्री जाकिर हुसैनले मदरसा शिक्षाको कानूनी व्यवस्थापनबारे मुस्लिम समुदायमाझ नै समान सोच नरहेकोले मदरसा शिक्षाको मूल उद्देश्य र यसको सनाखतलाई असर नपुग्ने गरी वैचारिक एकरूपता कायम गरेर त्यसअनुसार विधेयक तयार पारी सरकारसँग सशक्त रूपमा माग राख्नुपर्ने कुरामा जोड दिए । उनले मदरसा शिक्षाको बारेमा समुदाय र सरकारले उठाएका कदमहरूको ऐतिहासिक समीक्षा पनि गरे ।

अल हेरा एजुकेशनल साेसाइटीले शिक्षाविद् विद्यानाथ कोइरालाको सहयोगमा सामुदायिक छलफलकालागि तयार पारेको मदरसा शिक्षा विधेयकको मस्यौदामाथि झापा, मोरङ र सुनसरीका मुस्लिम बुद्धिजीवीहरूले आ-आफ्ना विचार राखे । बैठकमा प्रदेश सभा सदस्य इसराईल मन्सुरीकाे उपस्थिति रहेको थियो ।

उनले मदरसा शिक्षा प्रणालीलाई सुदृढ गर्न समुदायको चाहनाबमोजिम प्रदेश सभामा आवाज उठाउने बताए । बैठकले संघीय मदरसा शिक्षा ऐन पारित नहुन्जेल प्रादेशिक मदरसा बोर्ड गठनमा कुनै चासो राख्न न हुने निर्णय गर्यो । बैठकले प्रस्तावित विधेयक मस्यौदालाई अझ परिष्कृत गर्ने निर्णय गरेको छ ।