शनिबार १२ जेठ, २०८१

नेपाली समय

मापदण्ड बिना सञ्चालनमा रहेका नीजि अस्पतालहरूलाई कारबाही दायरामा ल्याउन पर्दछ: स्थानीय

मापदण्ड बिना सञ्चालनमा रहेका नीजि अस्पतालहरूलाई कारबाही दायरामा ल्याउन पर्दछ: स्थानीय

रौतहट, १८ फागुन । जिल्लाको विभिन्न स्थानीय तहमा मापदण्ड विपरीत सञ्चालनमा रहेका नीजि अस्पतालहरु माथि कसले करवाही गर्ला कार्वाहीको प्रश्नहरु उब्जिँदै गएका छन् ।

गरुडा नगरपालिका, गौर नगरपालिका, वृन्दावन, चन्द्रपुर लगायतका नगरपालिकाहरूमा तथा यमुनामाई, दुर्गा भगवती गाउँपालिकामा सञ्चालनमा रहेका नीजि अस्पतालहरु बिनाऊमापदण्ड  शैक्षिक योग्यता नभएका झोलाछाप चिकित्सकहरूको मद्दतमा अस्पतालहरु सञ्चालन गराएर बिरामीको जीवनसँग खेलवाड गरिरहँदा पनि कारबाही कुन निकायले गर्ला भनेर प्रश्न उब्जिँदै गएका छन ।

केही दिन अघि यमुनामाई गाउँपालिकाको सुकदेव चोकमा रहेका सगरमाथा तराई अस्पतालमा विना शैक्षिक योग्यताको झोलाछाप चिकित्सकबाट उपचार गराउदैं आएको खबर पाएपछि तिन जनालाई नियन्त्रणमा लिएपनि अन्य नीजि अस्पतालको अवस्था जसको तस रहेको पाइएको हो ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अनुसार भौतिक पूर्वाधार सहितको वेल इक्युमेन्ट, दक्ष जनशक्ति भएपछि मात्रै नीजि क्षेत्रमा अस्पताल सञ्चालनको लागि इजाजत दिइने गरिन्छ । त्यति मात्रै नभई बर्षभरीको मूल्याङ्कन फारमको आधारमा नवीकरण गर्ने स्पष्ट प्रावधान रहेको भएपनि बिना इजाजत, इजाजत लिएपनि बर्षौ देखि नवीकरण नगराएको, बेड राख्ने अनुमती नलिई बेड राखेको छ, बेड राख्न अनुमती लिएपनि त्यसभन्दा धेरै बेड राखेर उपचारको आडमा गरिब असहाय बिरामीहरू सँग अनावश्यक रूपमा रकम लुट्दै आएको पाइएका छन् ।

यसै क्रममा गरुडा नगरपालिकामा १३ वटा नीजि अस्पतालहरु सञ्चालनमा रहेको गरुडा नगरपालिकाको स्वास्थ्य शाखाबाट बुझिएको छ । जसमा जनसेवा क्लिनिकले अस्थायी रूपमा स्वीकृति लिएर २०८० जेठ महिना र याशिम संजीविनी अस्प्ताल प्रा. ली शिवनगरले २०८० मंसिर ६ मा नवीकरण गराएको गरुडा स्वास्थ्य शाखाको रेकर्डमा देखिन्छ । याशिम संजिविनिले १५ बेडको स्वीकृति लिएको भएपनि अन्य ११ वटा नीजि अस्पतालको नवीकरण भएको देखिएको छैनन् ।

यसै गरी आनन्द पोलिक्लीनिक एक्युपञ्चर शिवनगरले २०७३ साउन १९ गते जिल्ला स्वास्थ्य कार्यालय गौरबाट स्वीकृति लिएको देखिन्छ तर नवीकरण २०७६ फागुन १३ गते सम्म मात्रै भएको उक्त रेकर्डबाट बुझिएको छ । तर आनन्द पोलिक्लीनिक एक्युपञ्चरको रेकर्डमा रहेपनि सो हस्पिटलमा पुग्दा आनन्द हस्पिटल प्राली नाम राखेर सञ्चालन गरेको पाइएका छन् । बेड राख्ने प्रक्रिया पुरा नै नगरेर दर्जनौँ बेड राखेर बिरामीहरूको उपचार गरिरहेको छ । यहाँ सम्मकि भुईमै राखेर बिरामीको उपचार गर्ने गरेको पाइएको हो।

गाउँघरमा आफ्ना एजेन्टहरु मार्फत पक्षाघात (लकवा) भएका बिरामीहरूलाई उक्त हस्पिटलमा ल्याएर उपचार गर्ने गरिन्छ । उक्त होस्पिटलका सञ्चालक डाक्टर भनाउने उमेश जयसवालले विगत सात वर्ष देखि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड विपरीत हस्पिटल सञ्चालन गर्दै आएपनि सम्बन्धित निकाय केही गर्न नसकेको कारण सर्वसाधारण बिरामीहरू लुटिन बाध्य बनेका छन्।