शनिबार १९ फागुन, २०८०

नेपाली समय

साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको नयाँ आयामः मन्त्री शर्मा

साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको नयाँ आयामः मन्त्री शर्मा
फाइल फोटो

काठमाडौँ, २४ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएकाले यसप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ ।

यहाँस्थित इस्लिङ्टन कलेजले साइबर सुरक्षा र डिजिटल फोरेन्सिकसम्बन्धी अनुसन्धान गर्ने उद्देश्यले स्थापना गरेको साइबर सुरक्षा अनुसन्धान हब उद्घाटन गर्दै मन्त्री शर्माले साइबर सुरक्षा सरकारको राष्ट्रिय प्राथमिकतामा रहेको बताउनुभयो । रु साढे दुई करोड लगानीमा स्थापना गरिएको यो साइबर सुरक्षा अनुसन्धान हब नेपालकै पहिलो शैक्षिक अनुसन्धान केन्द्र भएको कलेजको दाबी छ । 

“सूचना तथा प्रविधिको विकास र प्रयोगसँगै साइबर सुरक्षा निकै महत्त्वपूर्ण बन्दै गएको छ । यससँग सम्बन्धित क्षेत्रको सुरक्षा अहिले विश्वभर ठुलो चुनौतीको विषय बन्दै गएको छ”, मन्त्री शर्माले भन्नुभयो, “व्यक्तिगत तथ्याङ्क सुरक्षादेखि मुलुकको सार्वभौम अक्षुण्ण राख्नेसम्मको काम महत्त्वपूर्ण बन्दै गएका छन् ।” 

सूचना प्रविधि आफैँमा उदाउँदो क्षेत्र भएको र त्यसमा अझ साइबर सुरक्षा महत्त्वपूर्ण भएको उहाँको भनाइ छ । मन्त्री शर्माल भन्नुभयो, “तपाईंहरुलाई थाहा नै छ, हामीले नेपालमा पहिलो पटक गत साउन २३ गते राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरेका छौँ । सूचना प्रविधि प्रणालीमा साइबर आक्रमणबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र भविष्यमा हुनसक्ने आक्रमणबाट सुरक्षित रहन साइबर सुरक्षा नीति जारी गरिएको हो ।”

राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० ले नौ वटा रणनीति अघि सारेको मन्त्री शर्माले उल्लेख  गर्नुभयो । सोही अनुसार आफूहरु साइबर सुरक्षासम्बन्धी कानुनी र संरचनागत व्यवस्थामा जुटेको उहाँको भनाइ छ । मन्त्रालयमा साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदा निर्माण भइरहेको जानकारी दिँदै उहाँले साइबर सुरक्षाका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको प्रक्रिया पनि अघि बढाइएको बताउनुभयो ।

साइबर सुरक्षा नीतिले जनचेतनामा पनि जोड दिएको र साइबर सुरक्षाका लागि अतिसंवेदनशील सूचना प्रविधि पूर्वाधार घोषणा गरेर त्यसको संरक्षण गर्ने नीति कानुनबाटै व्यवस्थित गरिने उहाँको भनाइ थियो । सूचना प्रविधिले सिमानारहित डिजिटल अर्थतन्त्रमा जोड दिने र मुलुक भूपरिवेष्टित हुँदा पनि असर नपर्ने भएकाले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने एकमात्र क्षेत्र नेपालका लागि सूचना प्रविधि नै हुने उहाँले स्पष्ट गर्नुभयो । 

आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालेपछि साइबर सुरक्षालाई प्राथमिकतामा राख्दै आएको र मन्त्रालय परिसरमै  सेक्युरिटी अप्रेसन सेन्टर (सक) स्थापना गरेर जिआइडिसी र जी क्लाउडमा होस्टिङ भएका सरकारी प्रणालीको २४ घण्टे अनुगमन सुरु गरिएको पनि मन्त्री शर्माले जानकारी दिनुभयो । त्यसपछि सरकारी सूचना प्रणालीमाथि आक्रमणका घटनामा पनि कमी आएको उहाँको भनाइ थियो । 

साइबर सुरक्षा विषय नेपालकै विश्वविद्यालयमा पठनपाठन सुरु गर्ने सरकारको लक्ष्य रहेको बताउँदै मन्त्री शर्माले त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थाले साइबर सुरक्षा  विषयमा स्नातकोत्तर तहका लागि पाठ्यक्रम तयार गरिरहेको समेत बताउनुभयो ।