बिहीबार १८ असोज, २०८०

नेपाली समय

देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष चौलागाईंको ठगी धन्दा; अपाङ्ग र दृष्टिबिहिन बचतकर्ताहरुको बिचल्ली

देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष चौलागाईंको ठगी धन्दा; अपाङ्ग र दृष्टिबिहिन बचतकर्ताहरुको बिचल्ली

ललितपुर, १ असोज । ललितपुरको सातदोबाटोस्थित केन्द्रीय कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र रवीन्द्र चौलागाईंले सर्वसाधारणबाट बचत सङ्कलन गरी कानुन विपरीत घरजग्गालगायत निजी व्यवसायमा लगानी गरेको आरोप छ । उक्त सहकारीले बचतको सट्टा केही समय अगाडी जग्गा दिने भन्दै सदस्य र नियामक निकायलाई झुक्क्यएको पीडितहरुको गुनासो रहेको छ । 

त्यस्तै सञ्चालक चौलागाईंविरुद्ध कानुनी कारबाही अघि बढेसँगै यसबाट बच्नकै लागि उनले फेरि साना बचतकर्तालाई नगद र ठुला बचतकर्तालाई जग्गाको प्रलोभन देखाएर झुक्याउन गरेका छन् । त्यस्तै देउराली सहकारीका शाखाहरू भक्तपुरको गठ्ठाघर र न्युरोडमा समेत सञ्चालन गर्दै आएका काभ्रेपलान्चोक जिल्ला चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ बोक्से खाल्डे स्थायी निवासी रवीन्द्र चौलागाईंले सहकारी सञ्चालन गरेको करिब ७ वर्षमा नै कसरी अकूत सम्पत्ति कमाउन सफल भएको भन्दै पीडितहरुले प्रश्न गरेका छन्। 

पछिल्लो समय सहकारीको विश्वसनीयता कम हुँदै गइरहेको अवस्थामा ललितपुरकै नम्बर १ सहकारीको रूपमा रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले सर्वसाधारणले खाई नखाई दैनिक मजदुरी गरी जम्मा गरेको रकमको दुरुपयोग गरी सहकारीका अध्यक्ष चौलागाईं सुरा सुन्दरी सहित तारेहोटलमा मोजमस्ती गर्दै लुङ्गी डान्समा व्यस्त रहेको समाचार प्रकाशित हुँदै आएका छन्।  

सर्वसाधारणले दैनिक मजदुरी गरी जम्मा गरेको रकम दुरुपयोग गरी विभिन्न संघसंस्था तथा जग्गामा लगानी गरेका कारण सर्वसाधारणले आफूले जम्मा गरेको रकम माग्दा उल्टै अबदेखि फोन गरे नराम्रो हुने भन्दै सहकारीका अध्यक्षले चौलागाईंले थर्काउने गरेको गुनासो देउराली सहकारीका वचतकर्ता सातदोबाटोको भिम श्रेष्ठ र गोदावरीकी लक्ष्मी तामाङले गुनासो पोखेका छन्। 

ललितपुरको सातदोबाटोमा प्रधान कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारीले करिब एक वर्ष अगाडि  सूचना नै जारी गरी कारोबार बन्द भएको जानकारी बचतकर्ताहरुलाई गराएको थियो।

सहकारीले यसरी सूचना जारी गरी केही दिनको लागि कारोबार बन्द भनेपछि बचतकर्ताहरु अत्तालिएर आफ्नो रकम झिक्न सहकारीमा लाइन नै लागेका थिए भने केही महिलाहरू आफूले खाई नखाई बचन गरेको रकम भनेको समयमा झिक्न नपाउँदा रुवाबासी नै चलेको थियो।

काभ्रेपलाञ्चोक जिल्ला चौरी देउराली गाउँपालिका वडा नं।६ बोक्से खाडीटोल स्थायी निवासी हाल ललितपुरको भैंसेपाटीमा दशौं करोड बराबरको आलिसान महल खरिद गरी बसोबास गर्दै आएका सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईंले खाई नखाई सर्वसाधारणले जम्मा गरेको रकम ‘मामाको धनमा फुपुको श्राद्ध’ भन्ने उक्तिलाई चरितार्थ गर्दै आफ्नो परिवारको नाममा विभिन्न संघसंस्थामा लगानी गरेको उनी नजिक सहकारीको सञ्चालकहरूले बताउने गरेका छन्।

टाटपल्टेर ढोकानै बन्द भएको देउराली बहुउद्देश्यीय सहकारीले गरेको बदमासीलाई ढाकछोप गर्न अध्यक्ष रविन्द्र चौलागाईंले विभिन्न अनलाईन मिडियाहरूलाई मोटो रकम खर्चेर चौलागाईंले सहकारीको पक्षमा समाचार लेखाउँदै आइरहेका छन्।

अध्यक्ष चौलागाईंले करोडौँ रुपैयाँ खर्च गरी अफिस डेकोरेसन देखाई मुद्दती बचतकर्ताहरुलाई मासिक रूपमा २० देखि २२ प्रतिशत ब्याज दिने प्रलोभनमा सहकारी डिभिजन कार्यालय, सहकारी सुपरिवेक्षण कार्यालय र सम्बन्धित निकायको सहकारी संचालनसम्बन्धी ऐन नियमलाई धोती लगाउँदै अर्बौँ रुपैयाँ सहकारीमा जम्मा गर्न सफल बनेका थिए।

यति मात्रै नभई सहकारीका खेलाडीको परिचित चौलागाईंले ललितपुर धापाखेलकी मञ्जु भण्डारीको पुर्ख्यौली घरको २ करोड ४ लाख राखी आफ्नी श्रीमती पूजा खत्रीको नाममा पास गराई रु १ करोड बहत्तर लाख सहकारीमा राख्नुस् मासिक लाखको १० हजार व्याज दिन्छु भनी लोभ देखाएको र हाल आएर चौलागाईंले घर लिलाम गराएको भन्दै मञ्जु भण्डारीले आँशु झार्दै गुनासो गरेकी छन्।

यसरी चौलागाईंले  बचतकर्ताहरूको अर्बौँ रुपैयाँ जग्गा, विभिन्न संघसंस्थामा लगानी गरी रातारात अर्बौंपति बन्न सफल भएको पीडितहरुले बताएका छन् ।

चौलागाईले बचतकर्ताहरूको रकमको दुरुपयोग गर्दै आरआर ग्रुप अफ कम्पनी दर्ता गर्दै त्यस अन्तर्गत सञ्चालन हुने गरी देउराली मल्टी पर्पोज को-अपरेटिभ प्रा.लि., श्री पूजा पोल्ट्री फार्म प्रा.लि. , देउराली प्रोप्रटिज प्रा.लि., मुन भेन्चर इन्भेष्टमेन्ट प्रा.लि.,अन्नपूर्ण डिस्टिलरी प्रा.लि., आरआर रिसर्च एण्ड डेभलपमेन्ट नामक कम्पनीहरू खडा गरी अर्बौंपति बन्न सफल भएको आरोप छ ।

तर, सामान्य ज्यालादारी मजदुरी गरी खाई नखाई बचाएको रकम दुरुपयोग गरी त्यस्ता वर्गका व्यक्तिहरूलाई रोडमा ल्याउने काम अध्यक्ष चौलागाईंले गरेका पनि आरोप छ ।

करिब एक वर्ष अगाडि  सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारीको प्राङ्गणमा देखिएको भिडभाड, रुवाबासी र गरिब जनताको चित्कारले सहकारीले गरेको बदमासीको पुष्टि हुन्छ। आफ्नो सहकारीको विश्वसनीयता छ भनी देखाउनका लागि गत वर्ष आफ्नै भवन भएको भन्दै सो भवनको उद्घाटनको लागि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई उद्घाटन गर्न लगाएका थिए।

त्यसैगरी देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चौलागाईंले अपाङ्ग तथा दृष्टिबिहिनहरूको बचत समेत डुबाएर बेहाल अवस्था बनाएको खुल्न आएको छ। देउराली सहकारीका अध्यक्ष चौलागाईंले दृष्टिबिहीनको बचत समेत अहिलेसम्म फिर्ता नगरेर अन्याय गरिरहेका छन्।

दृष्टिबिहीन उमेश थापा देउराली सहकारीमा जम्मा गरेको बचत फिर्ताको माग गर्दै केही समय अगाडि सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली सहकारीमा पुगे पनि आफूले जम्मा गरेको रकम अहिलेसम्म फिर्ता नपाएको उनले गुनासो गरेका छन्।

व्यवसाय सुरु गर्न भनी आफू जस्तै दृष्टिबिहिनहरुबाट सङ्कलित पैसा गायब भएको उनी दुखेसो पोख्छन्। केही गर्ने भनेर जम्मा गरेको पैसा सहकारीका अध्यक्ष चौलागाईंले ठगी गरेको थापाको भनाई छ।

दृष्टि विहीनले सानो सानो रकम सङ्कलन गरेर जम्मा गरेको पैसा अहिले सहकारीका अध्यक्ष चौलागाईंले गायब बनाएको उनले बताए। यता अबौं रुपैयाँ अपचलन गरेका देउरालीका अध्यक्ष दृष्टि विहीनहरूको सम्पर्कमा कहिले पनि आएका छैनन्। तर उनै अध्यक्ष चौलागाईंले बचतकर्तालाई बेलाबेलामा झुटो विज्ञप्ति जारी गरेर अर्को ठगी गर्ने गरेको बचत कर्ताहरूले बताएका छन्।

देउराली सहकारीका अध्यक्ष चौलागाईंको मनसाय बचतकर्ताको पैसा फिर्ता गर्ने नभएको पीडित पुरुषोतम कार्कीले बताए। सहकारीले पैसा नतिर्ने र बचतकर्ताको पैसा ठगी गर्ने नियतले केही यूट्यूब र अनलाइन मिडियाहरूलाई परिचालित गरेको कार्कीले बताए।

देउराली सहकारीका अध्यक्ष चौलागाईंलाई कानुनको दायरामा ल्याई कारबाही गर्नुपर्ने बचत कर्ताहरूले बताए।  त्यस्तै अध्यक्ष चौलागाईंले काठमाडौं उपत्यकाभित्र घरजग्गा विभिन्न कम्पनीको नाममा रहेपनि घरजग्गा रोक्का रहेको भन्दै उपत्यकाबाहिरको जग्गा स्वीकार गर्न बचतकर्तालाई केही समय अगाडि बाध्य पारेका थिए।

संस्थाका अध्यक्ष चौलागाईले सहायक कम्पनी खडा गरी सर्वसाधारणको बचत रकम चितवन र लामाटरमा जग्गामा रहेको भन्दै बचतकर्तालाइ ठगी गरेका थिए। उनले चितवन जिल्ला भरतपुर नगरपालिका–६ मेघौलीमा ५७ बिगाहा जग्गालाई १ हजार २ सय ६७ प्लटमा प्लटिङ गरेको बताएका थिए।