बिहीबार १८ असोज, २०८०

नेपाली समय

सूचनाको हकले ग¥यो रहस्योद्घाटन: गाउँपालिकाको खर्चमा बर्थ डे

सूचनाको हकले ग¥यो रहस्योद्घाटन: गाउँपालिकाको खर्चमा बर्थ डे

फिदीम, २८ भदौ । पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिकामा गाउँपालिका प्रमुख र वडा सचिव लगायत विभिन्न कर्मचारीको जन्मदिन मनाउँदा गाउँपालिकाबाट खर्च व्यहोर्दै आएको रहस्य खुलेको छ । गत जेठ २४ गते गाउँपालिका अध्यक्ष बाबुराम खड्काको जन्मदिन मनाउन रु. एक हजार पाँच सय खर्च गरेको गाउँपालिकाले एक वर्षमा अध्यक्षसहित सात जना कर्मचारीको जन्मदिन मनाउँदा विभिन्न मितिमा कार्यालयबाट एक हजार पाँच सयका दरले खर्च भएको सूचना उपलब्ध गराएको छ । 

तुम्बेवा गाउँपालिका वडा नं. १ का जङ्गबहादुर तामाङले सूचनाको हकको प्रयोग गर्दै गत भाद्र २४ गते लिखित निवेदन दिएपछि भाद्र २५ गते नै गाउँपालिकाकी सूचना अधिकारी बिनिता गौतमले लिखित रूपमा जन्मदिन मनाएको खर्च सम्बन्धी सूचना उपलब्ध गराएकी थिइन् । गौतमले उपलब्ध गराएको सूचना विवरणमा जेठ २५ गतेदेखि जन्मदिन मनाउने कार्यमा गाउँपालिकाको कुनै खर्च नभएको र जन्मदिन मनाउने कार्य स्थगन गरिएको उल्लेख गरिएको छ ।

सूचनाको हकको प्रयोगले जन्मदिन मनाउन गाउँपालिकाको कोषबाट खर्च हुने गरेको रहस्योद्घाटन भएपछि नैतिक रूपमा जनताप्रति जबाफदेही बन्दै गाउँपालिकाले आगामी दिनमा कुनै कर्मचारीहरूको जन्मदिन मनाउने कार्यमा खर्च नगर्ने प्रतिबद्धता व्यक्त गरेको आशयले सूचना उपलब्ध गराएको पाइएको छ ।

सूचना माग कर्ता तामाङका अनुसार गाउँपालिकामा वित्तीय अनुशासन नभएको र सरकारी पैसाले जन्मदिन मनाउँदै आएको जनगुनासोको आधारमा आफूले सूचना माग गरेको बताए । महालेखा परीक्षकको प्रतिवेदनमा समेत पालिकाको बेरुजु १ करोड ३० लाख रहेको उनको भनाई रहेको छ ।

 नेपालको संविधान २०७२ को धारा २७ र सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ ले प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने हक ग्यारेण्टी गरेको छ । सार्वजनिक निकायहरूमा हुने भ्रष्टाचारलाई न्यूनीकरण गर्न र स्थानीय सरकार लगायत जुनसुकै तहका सार्वजनिक कार्यालयहरूलाई पारदर्शी र जबाफदेही बनाउन सूचनाको हक महत्त्वपूर्ण र प्रभावकारी औजारको रूपमा प्रयोग गर्न सकिने सूचनाको हकका अभियन्ताहरूको दाबी रहेको छ । 

गाउँपालिकाको बजेटबाट जन्मदिन मनाएको सम्बन्धमा प्रतिक्रिया लिन गाउँपालिका अध्यक्ष बाबुराम खड्का र  प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडालाई मोबाइलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन।