भोजपुर, २७ भदौ । नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविरबाट भोजपुरका स्थानीय लाभान्वित भएका छन् । सेनाले विशेषज्ञ डाक्टरसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेसँगै स्थानीय नागरिक लाभान्वित बनेका हुन् ।
सेनाले सञ्चालन गरेको शिविरबाट सेवा लिन पाउँदा स्थानीयवासी खुसी भएका छन् ।सामान्य स्वास्थ्य सेवा लिनको लागिसमेत समस्या भोग्दै आएको अवस्थामा सेनाको पहलमा सेवा लिन पाउँदा सहज भएको स्थानीयवासी भूतपूर्व सैनिक ७६ वर्षीय इन्द्रबहादुर कार्कीले बताए ।
विभिन्न समयमा सञ्चालन हुने घुम्ती शिविरले दूरदराजको स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने कार्कीको भनाइ छ ।‘शिविरमा आएर सेवा लिन पाउँदा धेरै खुसी लाग्यो’ उनले भने,‘यही सेवा लिनको लागि बाहिरका अस्पताल जाँदा हजारौँ खर्च हुन्छ । यहाँ नै राम्रो उपचारसँगै निःशुल्क औषधि पाए । यस्ता खालको शिविर समय/समयमा सञ्चालन भए हामीले सहज हुने थियो ।’
भूतपूर्व, वाहलवाला र सैनिकका आश्रित परिवारलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो । सेनाले सञ्चालन गरेको शिविरले आश्रित परिवारलेसमेत सेवा लिन पाएको भूतपूर्व सैनिक संघ भोजपुरका अध्यक्ष पहलमान तामाङले बताए । लामो समयसम्म देशको सेवा गरेर वृद्ध भएको अवस्थामा सेनाको तर्फबाट यस्ता सेवामूलक काम हुँदा आफूलाई गौरव लागेको उनको भनाइ छ ।
‘लामो समयसम्म सेनामा जागिर खाएर देशको सेवा गरियो’ उनले भने‘अहिले वृद्ध अवस्था छ । यो अवस्थामा हाम्रो सम्मान स्वरूप निःशुल्क सेवा पाउँदा खुसी लागेको छ । यस्ता जनमुखी कार्यक्रमले सैनिक परिवारलाईसमेत लाभ पुगेको छ ।’
नेपाली सेनाको नं २ फिल्ड एम्बुलेन्स गुल्मको आयोजना र नयाँ श्रीनाथ गण भोजपुरको समन्वयमा ब्यारेकमा शिविर सञ्चालन गरिएको हो । शिविरबाट वहालवाला सैनिक ७७, भूतपूर्व सैनिक २० र सैनिकका आश्रित परिवार ३९ गरी एक सय ३६ जनाले निःशुल्क सेवा लिएको गणले जनाएको छ ।
विभिन्न रोगका कारण समस्यामा परेका भूतपूर्व सैनिक, बहालवाला सैनिक तथा उनीहरूका आश्रित परिवारलाई लक्षित गरेर एक दिने शिविर सञ्चालन गरिएको नयाँ श्रीनाथ गणका प्रमुख फणिन्द्र थापाले जानकारी दिए । प्रधान सेनापति प्रशुराम शर्माको निर्देशनमा शिविर आयोजना गरिएको प्रमुख थापाको भनाइ छ ।
‘भौगोलिक विकटतासँगै आर्थिक अवस्थाका कारण समस्यामा रहेका नागरिकलाई लक्षित गरेर शिविर सञ्चालन गरेका हौँ’प्रमुख थापाले भने,‘विशेषज्ञ डाक्टरसहितको शिविरबाट निःशुल्क स्वास्थ्य जाँचसँगै औषधि पनि वितरण गरिएको छ ।
नागरिकहरूले सहज रूपमा सेवा पाउन भन्नको लागि प्रधान सेनापतिको निर्देशनमा शिविर सञ्चालन गरेका हौँ।’