बिहीबार १८ असोज, २०८०

नेपाली समय

खोजकर्ता चण्डी कार्कीद्वारा सङ्कलित "थिङ्ग तामाङको परिचय र कुल परम्परा ":

खोजकर्ता चण्डी कार्कीद्वारा सङ्कलित "थिङ्ग तामाङको परिचय र कुल परम्परा ":

प्रारम्भिक भनाइ:

कुल परम्परा विवरणशंखरापुर नपा वडा नं ८ घुमारचोक बस्ने भिमबहादुर थिङ्ग (तम्बा संघको केन्द्रीय सदस्य (लाबोन लापताबा) र थिङको ताम्बा)ले सुनाउनु भएको आधारमा शब्द संयोजन गरिएको छ । यससँग सम्बन्धित पक्षका जानकार विज्ञको थप सुधार गर्न तथ्यगत विषयवस्तुमा सुझाव आएको खण्डमा परिमार्जन गरी प्रस्तुत गर्न प्रतिबद्ध रहेको अनुरोध गर्दछौँ ।

नेपाल बहुजाती, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र धार्मिक सहिष्णुताले ओतप्रोत भएको मुलुक हो । हाम्रो प्राचीन सभ्यतादेखिनै नेपाल वैदिक सनातन कालदेखि हिमवत्खण्डमा आफ्नो धार्मिक र सांस्कृतिक महत्वको भएको मुलुकमा कुनै धार्मिक सम्प्रदायबिच कसैले कसैलाई पनि आपसी मतभेद रहित मेलमिलापको संस्कारद्वारा उन्ययन भएको देखिन्छ । नेपालमा कुनै पनि धार्मिक मतालमविबिच द्वन्द्व भएको देखिँदैन । लिच्छविकालमा वैदिक सनातन धर्म र बौद्ध धर्मको सहिष्णुताको कारणले बुद्ध धर्मको प्रवर्द्धन एशिया महाद्वीपमा फैलिएको कुरा इतिहासमा लुकेको छैन । 

त्यसैले हामी नेपाली जातिको सबैले  परम्परागत रूपमा आफ्नो मुलुक भित्रका विभिन्न जातजातिका कुल परम्परा र जाती अस्तित्वमा संरक्षण गर्दै हाम्रो मुलुक नेपाललाई विश्वकै नमुना सांस्कृतिक सम्पदा भएको मुलुकका रूपमा चिनारी गराउनु हामी नेपाली साझा कर्तव्य हुन आउँछ । जहाँ बसे रहेको भएपनि हामी सबैको धर्म संस्कृति र संस्कार संस्कृतिलाई जगेर्णा गर्नु नै हाम्रो परम दायित्व हो । यही तथ्यलाई मनन गरी सबै जातजातिका परिचय र कुल परम्पराको विषयमा  एक आपसमा खोजविन गरेर संस्थागत रूपमा सङ्कलन गरी प्रकाशमा ल्याउन कोशिस गरिएको हुँदा सबैले आ-आफ्नो जातजातिको संक्षिप्त परिचय र स्थानीयस्तरमा के कसरी कुल परम्परा चलिरहेको छ भनी भावी सन्तानहरूलाई जानकारी गर्न गराउन सहयोग पुगोस् भनी यो आलेख प्रस्तुत गरिएको छ ।

सबै जातिजातीमा गाउँ ठाउँ अनुसार प्रचलन रहेको कुल पूजा र सांस्कृतिक संस्कारको तथ्य फरक फरक परम्परालाई वास्तविक तथ्य उपलब्ध गराई  दिन  र  विशेष परिमार्जित गर्न जानकारी  उपलब्ध गराउनु हुन अनुरोध गर्दछौँ । प्राप्त तथ्यहरूलाई समावेश गरी परिमार्जन गरिने कुरा अनुरोध गर्दछौँ । 

तामाङ जातिको एक थर थिङ्गको संक्षिप्त परिचय र कुलाचाड संस्कार जस्तै अन्य तामाङहरू तथा अरू जात जातिका कुल परम्परा जस्तामा जानकारी दिन अनुरोध गर्दछौँ।

थिङ्ग र अन्य थरका तामाङका विविध पक्षमा प्राप्त थप विषय वस्तु उपलब्ध हुने अपेक्षा गर्दछौँ।

काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका वडा नं ८ बस्ने कुल देवताको मूल पुजारी "लापतावा बोम्बो (ला बोन) भिमबहादुर थिङ्गको सहयोगमा  थिङ्गको  परिचय र कुलदेवताको पूजा सम्बन्धी आलेख तयार गरी सबैको जानकारीका लागि प्रस्तुत गरिन्छ । 

रचनात्मक सुझावको लागि यही स्तम्भमा र भिमबहादुर थिङ्गको फोन नं ९८६०३६५२३१ मा  र यसै स्तम्भमा सुझाव उपलब्ध गराउन सम्बन्धित विज्ञहरू सबैमा हार्दिक अनुरोध गर्दछौँ  ​​​​​।

थिङ्ग तामाङको जातिको परिचय र उत्पत्ति स्थान :

नेपाल भित्र तामाङ जातिको १४९ थर रहेको पाइन्छ ।  तामाङ जातिको धेरै थर हुन्छन् । त्यसमा तामाङ जातिमध्येको थिङ्ग एक थर हो । यिनीहरूको उत्पत्ति थलो तिब्बतको यालुङ सोक्टी सोकर हो भनिन्छ ।

जिजु बाजेले ठाडे बोलगाङमा  सबभन्दा पहिले घर बसास गर्न तीन वटा ढुङ्गाको चुलो बनाएको ठाउँलाई ङार्छ्याबा भनिन्छ । हाम्रो जिजु बाजे बसी यो चुलो ठाउँलाई मूल घडेरी भनेर बारबेरा लगाएर सुरक्षित राखेको छ भनी भिमबहादुर थिङ्गले बताउनु भएको थियो।

१. थिङ २. घ्लान ३. मोक्तान  ४. लो ५. स्याङतान यी ५ थरी तामाङ तिब्बतको भोट केरूङबाट आइ नेपालको नुवाकोट जिल्लाको टुप्चेश्वर गाउँपालिकामा बसोबास गरेका थिए भनिन्छ। 

१. थिन ङार्छ्याबा ठाडे बोलगाङमा २. घ्लान गुल्फु भन्ज्याङ ३. मोक्तान म्रवङ माउ ग्याल्समा, ४. लो ज्योनानमा र ५. स्याङतान चखम्मा 

 पहिलो पुस्ताको एक  जना थिङ्ग बाजे तिब्बतको केरूङ भोटबाट आएर नुवाकोट जिल्ला टुप्चेश्वर गाउँपालिका ठाडे बोलगाङमा बसेका  थिए । उनका ३ भाइ छोरा भए । ३ भाइ थिङ्गका सन्तानहरू यस प्रकार देखिन्छन् -

१. जेठा छोरा ग्याल्सब रसुवा जिल्लाको स्याप्रुमा बस्नु गएको र उनका ४ भाइ छोरा भएका थिए ।

२. माहिलो छोरा बलसब नुवाकोटको ङार्छ्याबा ठाडेमा बसेको र उनका ५ भाइ छोराहरू भएका थिए ।

३. कान्छो छोरा लसाब  नुवाकोट जिल्ला  ङर्छ्याबा मुनी बोलगाङमा  बसेको र उनका ५ भाइ छोरा भएका थिए।

यसरी यी  ३ भाइ थिङ्गका सन्तान १४ भाइ छोराहरू भएका थिए । यी १४ दाजुभाइ थिङ्ग तामाङका सन्तानहरू नेपाल भित्र पूर्व, दक्षिण, पश्चिम र उत्तर हिमाल पहाड तराई र देश परदेश फैलिएको पाइन्छ । जहाँ रहे बसेको भएपनि १४ भाइ थिङ्गका सन्तानहरू हुन् ।

नुवाकोट जिल्लाको छ्युपर गाउँ वारी र बोलगाङ पाररी पदर्छ । यस छ्युपरमा बस्ने थिङ्ग बाजेको सन्तानले  हिमाल पहाड तराईमा बस्ने कसैले पनि घर भित्र भैँसीको मासु पकाउने चलन छैन। जसको किंवदन्ती यस्तो पाइन्छ -

थिङ्ग तामाङका १४ जना सन्तानमध्ये छ्युपरमा बस्ने बाजेको माम् (बुढी) मृत्यु भयो रे । कुनै  गाउँमा एक जान ब्लोन थरका तामाङ बुढा बुढी र छोरा समेत रहेछन् ब्लोन बुढाको मृत्यु भयो । ब्लोनको विधुवा  बुढी र छोरासहित थिङ्ग बाजेले विवाह गरेर घर लिएर आउँदा झट्केलो छोरा बिरामी भयो । झाँक्री ज्योतिषलाई ज्वोखाना हेराउँदा राँगाको मासु घरभित्र पकाएर खाएको हुँदा देउता रिसाएर झट्केलो छोरा बिरामी भएको हो भने छन् । राँगा भैँसीको मासु घरबाहिर पकाए निको हुन्छ भनेकाले छ्युपरमा बस्ने थिङ्ग बाजेले स्वीकारेर राँगाको मासु घरबाहिर पकाए हो भनिन्छ । बिरामी निको भएपछि थिङ्ग बाजे बजै दुवै खुशी भएर  सहमतिमा राँगा भैँसीको मासु घर भित्र नपकाएको भन्ने  कथन सुनिन्छ । 

ब्लोनको बच्चा सानै हुँदा आमा मरेर भैँसीको दूध ख्वाएर हुर्किएकोले कारण ब्लोनको एक थरीले  राँगाको मासु नखाएको  भन्ने गरिन्छ । दोस्रो थरी देवतालाई नहुने भएकाले बाहिर पकाएर खाने गरेका भन्ने गरिन्छ ।

नुवाकोट जिल्लाको छ्युपरमा बस्ने थिङ्ग बाजेका सन्तान हिमाल पहाड तराईमा बस्ने कसैले पनि घर भित्र राँगा भैँसीको मासु पकाउने चलन छैन। यो परम्परागतदेखि चलेको कथन के कति सत्यताको  प्रमाणिक आधार नभएको पनि किम्बदन्ती चाहिँ सुन्दै सुनिँदै आएको पाइन्छ ।

केही तामाङ जातिहरूको पूर्खेली थलो:

नेपालका निम्नलिखित क्षेत्रमा पूर्खेली बसोबास गर्ने विभिन्न तामाङ जातिहरू यस प्रकार छन् -

१. घ्लान नुवाकोट जिल्लाको टुप्चेश्वर गाउँपालिका गुल्फू भन्ज्याङ ।

२. मोक्तान नुवाकोट जिल्लाको टुप्चेश्वर गाउँपालिका म्रवङ माउ ग्याल्सा ।

३. लो नुवाकोट जिल्लाको टुप्चेश्वर गाउँपालिका ज्योहोनन् ।

४. स्याङतन नुवाकोट जिल्लाको टुप्चेश्वर गाउँपालिका चखमरी  ।                  

५. गोले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका थङपल  ।

६. उइवा(वाइवा) उइगुम्बाबाट सिन्धुपाल्चोक जिल्लाको सुलिग्याङ किल्वुङ आएको थिए। 

७. ब्लोनको उत्पत्ति सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका, १ थकानी र २ हैवुङमा बसेका थिए । पछि बसाइसराइ भएर जहाँ गई बसोबास गरेका भएपनि ब्लोन र स्याङव्वो थर  थकानी र हैवुङ दुई गाउँबाट छुटेर गएको सन्तान हो भन्ने गरिन्छ । 

नेपाल भित्र पूर्व, दक्षिण, पश्चिम र उत्तर हिमाल पहाड तराई र देश परदेश जहाँ बसेको भएपनि उक्त उल्लेखित पूर्खाकैहरूकै सन्तान हुन् ।

तामाङ जातिको स्वांगे भाइमा कुटुम्ब नचल्ने:

तामाङ जातिको स्वांगे भाइ कुटुम्ब नचल्ने अर्थात् विवाह (ब्रेलसङ) नहुने सबै थरमा होइन । 

स्वांगे भाइ कुटुम्बामा विवाह (ब्रेलसङ) नहुने नचल्ने तामाङ थरहरु यस प्रकार छन् -

 १. थिङ्ग र मेसुर एउटा थर हो । यीनको ब्रेल्सन(विवाह) चल्दैन ।

 २. घ्लान, लो, घिसिङको ब्रेल्सन (विवाह) चल्दैन ।

३. मोक्तान, पार्खिन, स्याङ्तान र थोकरको ब्रेल्सङ (विवाह) चल्दैन ।

४.  ब्लोन र स्याङव्वोको ब्रेल्सन(विवाह)   चल्दैन ।

५. गोले, बल, बज्यु, दोङ, तिदोङ, डिप्तोङ कल्तेन, गङतन् स्योङतन्, गोङबा, ग्यप्तेन्, लुङमा यी १२ थर तामाङको ब्रेल्सन(विवाह)  चल्दैन ।

६. उइवा (वाइवा), टु, टुबा, ग्याबा, जिम्बा, रूम्बा, घ्याप्तेन् यी ७ थरको ब्रेल्सन (विवाह) चल्दैन ।

७. बम्जन, योन्जन, लोप्चन, डुप्चन्, मिक्चन् यी ५थरको ब्रेल्सन (विवाह) चल्दैन ।

८. नेगीको स्वांगे भाइ हाल जानकारी हुन सकेको छैन। केही पनि उल्लेख भएको छैन । खोजी कार्य भइरहेको छ ।

९. पूर्वबाट आएका थरहरूको बारेमा खोजविनमा रहेको छ । नेगी र पूर्वबाट आएका तामाङ थरको स्वांगे भाइको हुन् भन्ने जानकारी आफूलाई नभएको भिमबहादुर थिङ भनाइ छ । पछि प्राप्त भएको खण्डमा समावेश गरिन्छ ।

परम्परागतरुपमा चलेको विवाहसम्बधी स्वांगे भाइहरू को को हुन् भन्ने कुरा बसाई सराई क्रममा जानकारी नभएको कारणले पहिले कायम भएका स्वांगे भाइ घट्न गएको देखिन्छ ।

संस्कार सम्बन्धी

भिमबहादुर थिङ तम्बा संघको केन्द्रीय सदस्य (लाबोन लापताबा) र थिङको ताम्बा

जन्म र न्वरान सम्बन्धी 

१. तम्बा(तामाङको पुरोहित अर्थात् व्रतबन्ध, विवाह र अन्य कार्यहरू गराउने, संगुन (रिमठिम) तयार) पार्ने पूजाआजा कर्मकाण्डका काम गर्नेलाई तामाङ भाषामा ताम्बा भनिन्छ)

थिङको नवजात बच्चा जन्मँदा न्वरान गराउने विधि:

१. आमाको कोख (गर्भ) मा ९ महिना ९ दिन बसेपछि बच्चा जन्मिन्छ । आमाको गर्भबाट जन्मिएको नवजात बच्चाको ३ दिनको बिहान न्वरान गरिन्छ ।

२ .न्वरा गर्दा चाहिने सामग्रीहरू 

१.  स्युक्पा (धूपी),२.च्यान्छिन् (तितेपाती), ३. केरवा(चुत्रो), ४. तक्बा ५. लङवोर, गाङका ङिसला(सात वटा खोलाको), क्यूई(पानी/गंगाजल) बसि (ल्याएर) पोकोरी (घडा वा कलश) मा राख्ने।

युङवा सेल (दलसिंग ढुङ्गा) मेरी(आगो) फरसी (आगोमा हाल्ने) मेतोना लसी (दलसिंग ढुङ्गा आगोमा हालेर पोलेर आगो जस्तै रातो पार्ने ) पोकोरी युसी (पानी राखेको घडा) वास्नाम्युकु (धूपको बास्ना) लङबोहाना(ध़ूपको ध्वाँवा) लसी (बास्ना आउने गरी) जा जामे (छोरा वा छोरी), नुवाइदिसी (पानीले नुहाउने), ला ला (देउदेउता) केव़बङ (सुतक) साङसी (चोख्याउने) दोबाटोरी(चौबाटो) प्याङसेला (फाल्ने) ।

नव जात शिशु वा बच्चाको न्वरान गर्दा  धूपी, तितेपाती, चुत्रो, तक्बा, लङबोर, दलसिंग ढुङ्गा आगोमा हालेर पोलेर आगो जस्तै रातो पार्ने (रातो हुने गरी पोलेर ) एउटा घडा वा कलशामा हाल्ने सात वटा खोलाबाट ल्याएको पानीले घडीमाथि बच्चालाई नुहाउँदा पानी तातो ढुङ्गामा परी आउन धुवाँ बाफले बच्चालाई सेकेपछि चोख्याई शुद्ध न्वरान गरिन्छ । न्वरानपछि सबै सामग्रीको घडा चौबाटो लगेर फाल्ने गरिन्छ । 

६. कनचसी (भात), फिरक्याप (घर बाहि), दिनीरी (गुन्द्री) ख्वान तिसी (लुगा ओछ्याएर ) नाहसी (घाममा सुताएर) मिन थन्वा (नामाकरण) गर्ने गरिन्छ । 

 ७. तीन दिनमा न्वारान गरेर,भात खाएर बाहिर घामा बच्चालाई सुताएर नाम राख्ने गरिन्छ । 

नवजात बच्चाको न्वरान गर्दा यी सबै सामान एउटा घडा वा भाँडो भित्र राख्नु पर्छ। बच्चालाई सात गङ्गा (सात वटा नदी)को पानीले  नवजाज शिशू बच्चालाई नुहाएर चोख्याउनु पर्छ। त्यसपछि बच्चाको न्वरान गरी नाम राखिन्छ ।

न्वरान गर्दा बच्चालाई नुहाएर बाँकी रहेका समान दोबाटोमा सेलाउने वा फ्याक्नु पर्दछ ।

बच्चाको भात ख्वाउने पास्नी गर्ने विधि:

छोराको भात ख्वाउने पास्नी ६ महिनामा गरिन्छ। छोरीको भात ख्वाउने पास्नी ५ महिनामा गरिन्छ । 

छेवार र व्रतबन्ध र गुन्यु चोलो गर्ने विधि: 

छोराको  छेवार, व्रतबन्ध गर्दा  र छोरीको गुन्यु चोलो दिँदा विजोडी वर्ष पार्नु पर्दछ ।

१. छोराको ७, ९ र ११ वर्ष उमेर भित्र छेवार तथा व्रतबन्ध गर्नुपर्छ।

२. छोरीको ७,९ र ११ वर्ष उमेर भित्र गुन्यु चोलो दिनु  पर्दछ ।

विवाह सम्बन्धी:

विवाह गर्ने उमेर:

छोरा र छोरी दुवैको विवाह बिजोर वर्ष पार्नुपर्दछ अर्थात् केटीको उमेर बिजोर वर्षमा भएको बेलामा विवाह गर्ने चलन छ ।

१. छोरा र छोरीको १७,१९ र २१ वर्ष उमेर भित्र पहिले  विवाह गर्ने गरिन्थ्यो भने हाल, २१, २३, २५ र २७ वर्ष उमेरमा विवाह गर्ने चलन छ।

तामाङ समाजमा केटा केटीको ब्रेल्सङमा रिमठिम गर्नु र जन्मेदेखि मरणसम्म गर्नु पर्ने न्वरान, पस्नी (भात खुवाई), छेवर, व्रतबन्ध गुन्यु चोली, विवाह मृत्यु संस्कार कर्म गर्न तम्बाको आवश्यक पर्दछ। लिपि प्रमाण नभएको कारण पूर्वजले सुनाएको र सुनेको भनेको कथनका आधारमा विभिन्न व्यक्तिले गाउँ, ठाउँ, खोला प्रचलन अनुसार आ-आफ्नो तरिकाले माथि उल्लेखित कर्म गर्दै आएको देखिन्छ । किनकी एउटा निश्चित लिपिमा तामाङको संस्कार कर्म सम्बन्धी लिखित विधि पद्धति नभएको हुँदा एकै किसिमको रिमठिम पाइदैन। त्यसैले तामाङहरूको संस्कार क्रिया कर्मको एउटै विधि पद्धति विकास गरौँ भनी समाज, संघ संस्थाले एकरूपता ल्याउन पहल भइरहेको छ भन्नु हुन्छ भिमबहादुद थिङ ।

मागी विवाहको लागि केटी माग्दा गर्ने चलन:

तामाङ जातिहरूको रिमठिम पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ७७ रै जिल्लामा बसोबास गर्ने सबै तामाङ थरीको ब्रेल्सङ (विवाह) को रिमठिम रीतिरिवाज यस प्रकार देखिन्छ- 

१. केटाको घरबाट केटीको घरमा,केटी माग्न जाने चलन छ । 

२. केटीका आमा बावुले छोरी दिनु पहिले जान्ने ज्योतिष वा तान्त्रिक झाँक्री वा तम्बाद्वारा  केटाकेटीको चिना हेराई ग्रह नक्षत्र गुण लक्षण सबै मिलेमा केटी दिने चलन छ । 

३. आमा बाबुले केटी दिएपछि केटाको घरबाट केटीको घरमा कुरा छिन्न वा कुरा राख्न आउँदा  केटा पक्षले पुर्‍याउने रीत सगुन यस प्रकार रहेको छ -

 १ .क्याम्छङ (केटीपट्टीले बाटो खोल्ने)

 २. म्रप्ठङ(केटी पक्षले ढोका खोल्ने)

३. भजनप्वङ(केटाले  केटी माग्न / कुरा राख्न आउँदा  ल्याउने सगुन)           

४. लगन ठेगान (विवाहको दिन  तय ) गर्ने । विवाहको लगन तय  गर्दा केटाले केटी पक्षलाई चार प्वङ ऐराक(रक्सी), चारवटा कुखुराको भाले लिएर तम्वा सहित केटाले सगुन लिएर आउनुपर्छ  । यसपछि केटीपक्षका आमा बाउ, मयुङ (दाजुभाइ), तम्बा (पुरोहित) समेत बसेर छलफल सल्लाह पश्चात् सगुन स्वीकार गरी खाने गरिन्छ । ब्रेल्सङको लगन ठेगान गर्ने गर्दछन् । गुरु, पुरोहित, ज्योतिषले विवाहको लग्न साहित जुराएको तिथि मितिका दिन ब्रेल्सङ (विवाह) गर्ने गरिन्छ ।  

केटा (वेहुला)लाई जन्ती लिएर आउँदा केटी (बेहुली) पक्षलाई निम्नलिखित सगुन लिएर जानु पर्ने चलन रहेको छ -

१. म्याङज्यङ (विवाहको दिनको सगुन ) म्याङज्यङको २५० सेल रोटी, एक बोतल सगुन रक्सी, एउटा कुखुराको भाले ।  

२. जन्ती बाख्रा, ठोमको १८० सेल रोटी,एक बोतल सगुन रक्सी, एउटा कुखुराको भाले।

३. ङेसइ(केटीको आमा) केटीको आमाको दूधको भारा तिर्नको लागि १०० वटा सेल रोटी,एक बोतल सगुन रक्सी, एउटा कुखुराको भाले केटाले सगुन दिने गरिन्छ  ।

४. मामा थोईको लागि १०० सेल रोटी,एक बोतल सगुन रक्सी, एउटा कुखुराको भाले।

५. आङी (फुपू )को लागि १०० सेल रोटी,एक बोतल सगुन रक्सी, एउटा कुखुराको भाले।

नुवाकोट जिल्ला छ्युपरमा बस्ने थिन बाजेको सन्तानहरूले भैँसीको मासु  घर भित्र नपकाउने कारण:

६. बेहुला (केटा) पक्षबाट बेहुलीको लागि 

विवाहमा जन्ती लिएर जाँदा तामाङको रिमठिममा चलेको चलन अनुसार सेल रोटी, कुखुराको भाले,रक्सी र केटाको गच्छेले सकेको बेहुलीलाई पहिरिने लुगा सुन,चाँदी गर गहना जुत्ता, टीका,पोते, धागो, सिँगारका समान लग्नु पर्दछ । 

बेहुलीको मामाले बेहुलालाई आफ्नो गच्छे अनुसार दौरा सुरूवाल कोट टोपी, जुत्ता,मोजा,छाता फेटा समेत बाँधेर सिँगार पटार गरी  बेहुलालाई जन्तीको माझमा राखी डम्फु बजाउँदै बेहुली लिन जन्ती लिएर जाने गरिन्छ । 

अहिले बेहुलाको घरबाट जन्ती लिएर बेहुली लान जाँदा पहिले जस्तो डम्फु बजाउँदै जाने चलन थिति  हराउँदै वा छोड्दै गएको देखिन्छ । कुनै कुनै गाउँ गाउँमा यो चलन कायम नै रहेको पाइन्छ । 

केटाको घरबाट माथि उल्लेखित सामाग्रीहरू तयार पारेर तोकेको तिथि मितिमा आउनु पर्ने चलन छ ।

७.चार दाम :वेहुलाले चारदाम गर्नको लागी २ माना चामल, चार दाम पैसा, १ बोतल रक्सी,कुखुराको भाले, अथवा जिउँदो जोडी परेवा,जिउँदो जोडी माछा समेत मयुङ (दाजुभाइ)लाई ल्याउने चलन छ । मयुङले बेहुलालाई चार दाम गरिदिने चलन छ । 

८. घासा: वेहुलीपट्टीको तम्बाले बेहुलालाई घासा गरिदिने चलन छ । घासाको लागि बेहुलाले २ माना चामल,१२ रुपैयाँ पैसा, १२ थोक मिसाएर पकाएको गेडागुडीको १२ पोका र एक बोतल निगार चाहिन्छ। उहिले चाहिँ ३ मुरीको निगार दिने चलन थियो रे । यो चलन घट्तै आएर १ बोतल निगार ल्याउने चलन कायम भएको देखिन्छ । 

माथि उल्लेख भएका सामानलाई ल्होन भनिन्छ । केटा(बेहुला) सिंगारे, तम्बा पनि फेटा बानेर मयुर जस्तो भएर,बनेर जन्तीसँग डम्फु बजाएर आउने / ल्याउनेलाई वा जन्ती लिएर आउने पुरोहितलाई म्रावइसिंगी भनिन्छ, भन्ने गरिन्छ ।  वोन धर्मलम्बी तम्बा (पुरोहित)  तिब्बतको भोटबाट आउनु भएको भनिन्छ  ।

बेहुला (केटी)को घरमा जन्ती आएपछि स्वगत गर्ने : 

दोष निवारण सगुन:

बेहुली पक्षले जन्तीलाई स्वगतद्वार बनाई थालमा सगुन बत्ती राखेर दुच्छे (माटो घडामा कोको मेन्दो र जाड राखी )  सगुन दिएर स्वागत गर्ने चलन छ । जन्तीसँग केही दोष दोख्यान भूत प्रेत आएर मान्छे बिरामी, कुनै किसिमको अशुभ नहोस् भनी बेसार चामलमा मिसाएर बनाइएको अक्षता र पानीले जन्तीलाई पर्सने गरिन्छ  भने पानीले जन्तीलाई पर्सिने गरिन्छ र  तम्बाले चामलको सेतो टिका जन्तीलाई लगाउने चलन छ । कुनै कुनै गाउँमा जन्ती पर्सदा कन्य केटीले जन्तीलाई टीकालगाइदिने गरिन्छ । 

स्वयम्वर: बेहुला (केटा)ले बेहुलीलाई सुनको औँठी लगाइ दिन्छ । बेहुलालाई बेहुलीले सके सुनको औँठी नसके फूलको माला लगाएर स्वयम्वर गरिन्छ । 

शुभहोस् भनी शान्ति पूजा:

जन्ती आएपछि दोहोरो (बेहुला र बेहुलीको) धामी, बोम्बो(झाँक्री)ले पिरका (छ्याङतेर)मा राखी देरमा/खरवा (थाल), बत्ती, दुच्छे सगुन पोइमोतङ (धुपौरो) बोम्बो(झाँक्री)को अगाडि धन्सी (राखेर), स्या(मासु) घेङ(रोटी) ऐरक(रक्सी) दोन्सी (दिएर) दोष, बिरामी नराम्रो केही नहोस् भन्ने कामना गरी सङ सेरकेम् दोहोरो बोम्बोले शान्ति पूजा गर्दछन्। सङ सेरकेम् सकेर सगुन सबैलाई बाँडेर खाएपछि खाजा र भोज खाने चलन छ / गरिन्छ । 

१२ सगुन:

भुइँमा (सरी ) छ्याङतेर,देरमा (थाल) बत्ती  मोने (अक्षता) दुच्छे  र १३ वटा  दुना टपरीमा ३,३ वटा सेल रोटी हाली सगुन राख्ने गरिन्छ । त्यसलाई १२ सगुन भन्ने भनिन्छ । १२ सगुनमा १३ वटा दुना टपरीमा ३,३ वटा सेल रोटी हाली सगुन राख्ने गरिन्छ ।

केटा(बेहुला)ले बेहुलीलाई पहिराउन ल्याएको सुन,चाँदी घोइला(सारी चोला कपडा),चुरा, पोते सिँगारका सामान चरेशको थालमा अक्षता हाली राखेर दिने गरिन्छ ।  

शंखरापुर नगरपालिका १ नं वडादेखि ९ नं वडासम्म १२ सगुनलाई ब्रेल्सङको पूजा सामान भनिन्छ । यो पूजा सामान राखिकन देवतालालाई सुनिदिनुहोस्, रक्षा गर्नुहोस् भन्ने अनुरोध गरिन्छ । सबै जिल्ला, क्षेत्र, गाउँ ठाउँका तम्बाहरूले सबै तामाङ जातिहरूको एकै किसिमले रिमठिम पेठिम चलाएमा एकरूपता मिल्ने हुन्थ्यो भन्ने भिमबहादुर थिङ्गको विचार रहेकोछ ।  

जिउँदो हुँदासम्म चारदाम आठदाम गरिन्छ भने मरे वा मृत्युपछि बाँकी दाम गर्ने गरिन्छ  र  घासाको कुरा हाम्रो  तम्बा र अग्रजहरूले भन्दै सुन्दै आएका भनाइहरू सुनी सुनाईएका अनुसार यी कुराहरू प्रस्तुत गरिएको हो भन्नु हुन्छ भिमबहादुर थिङ्ग । 

यसैगरी विवाहमा जन्ती जाँदा पनि गाउँ ठाउँ अनुसार फरक-फरक तरिका देखिन्छ भने तम्बा र गुरुले विवाहका विधि गाउँ ठाउँ अनुसार नै रिमठिम पेठिम पनि फरक तरिकाले  गराउने गरेको भेटिन्छन्  / देखिन्छ । 

केटी  र केटा पक्षको प्रश्नोत्तर दिन अनुरोध गर्ने चलन: 

घर गाउँले दाजुभाइ, तम्बाले  र  जन्तीहरू सबै जनालाई प्रश्नोत्तर गर्नु भन्दा पहिला म्याङज्याङको सेल रोटी,कुखुराको मासु, रक्सीको सगुन बाडेर केटीपट्टी (घरगाउँले)का तम्बाले केटापट्टीको म्रवाईसिङगी तम्बालाई यो के को उपलक्ष्यमा सगुन ल्याउनु  भयो ? भनी प्रश्न गर्ने चलन छ ।

केटापट्टीको तम्बाले तपाईँको छोरी र हाम्रो छोराको ब्रेल्सङको उपलक्ष्यमा ल्याएको सगुन हो भनी जबाफ दिन्छन् । यो सगुन खाएर स्याङ(हजुर) को छोरी चेलीलाई हाम्रो मरच्म (सुनको फूल) केटालाई चार दाम आठ दाम र घासा पत्रले परिपक्का गरी  दिनु होस् भनी अनुरोध गरिन्छ । 

केटीतर्फबाट तम्बाले विवाहको कुरा सुरुवात गर्ने:

घरगाउँले केटी पट्टीको तम्बाले निम्न कुरा गरी ब्रेल्सनको शुरुवात गर्ने गर्दछन् -

जान्नेले जमिन, पृथ्वी, आकाशमा चन्द्रमा, सूर्य मान्छे र देवता सृष्टि भएको र  देवतासँग मान्छे छुटिएर पृथ्वीमा तल आएर सबै जात थर छुट्याएर विवाह गर्ने  चलन चलाएको  मानिन्छ। केटा र केटी आमाको कोख (गर्भ) मा ९ महिना ९ दिन बसेपछि जन्मिन्छन् । आमाको गर्भबाट जन्मिएको तीन दिनमा न्वारान गरिन्छ । पाँच छ महिनामा भात ख्वाई पास्नी गरिन्छ । ७,९,११ ( बिजोर) वर्षमा छोराको व्रतबन्ध र छोरीको गुन्युचोली गरिन्छ । १९ वर्षदेखि २३ (बिजोर) बर्षमा ब्रेल्सङ गर्ने बेलासम्मको कुरा समेत जज्ञमा गर्ने गरिन्छ ।  यी सबै कुरा तम्बा गन्बाले गर्दछन्। सबैले तामाङ  जातिको रिमठिम जानेको हुँदैन गरिन्दैन् जान्ने सहजै स्वीकार्नुपर्छ । नजानेले काम चलाउन लौ हामीले पुरानो थिति भन्न गर्न आउँदैन काम चलाउ कुरा मात्रै गरिएको छ भन्ने  चलन छ ।

बेहुली अन्माउने (वेहुलीको बिदाइ) र लोकन्ती पठाउने :

घरगाउँले केटी पट्टीको तम्बाले सुन चाँदी घोइला चुरा पोते राखेको थाल उचालेर हातमा लिएर आर्शिवाद (मोलोम् ) दिएर केटीलाई लुगा पहिर्याउने गरिन्छ । बेहुली लिन जाँदा वेहुलसंग जाने कन्या केटीलाई मन्डौली भनिन्छ भने माइतीघरबाट बेहुलाको घरमा बेहुलीलाई जाने कन्या केटीलाई लोकन्ती भनिन्छ ।

बाँकी दाम: बाँकी दाम भनेको बेहुली मरेपछि माईतीपट्टीको मयुङलाई खरानी  बुझाउनुलाई बाकी दाम भनिन्छ। 

मयुङले चार दाम र तम्बाले  घासा गरिसकेपछि, गर्धुवा (बेहुलीलाई नगद, जिन्सी उपहार) सामान दिनु पर्छ । केटीका आमा बाउ मयुङ पाहुनाहरू सबैले टीका लगाएर खाजा भोज खाएर गिताङकीले डम्फु बजाउदै मयुङले छोरी ज्वाँईलाई बोकेर घर बाहिर बनाएको द्वारसम्म पुर्‍याई बेहुली अनमाई बिदाई गरी पठाउने गरिन्छ । 

बेहुली घर भित्र्याउँदाको रित:

बेहुलाको घरमा बेहुलीलाई भित्र्याउँदा आँगनमा धामी झाँक्रीले शान्ति पूजा गर्नुपर्छ  । त्यसपछि सासु ससुरा वा मान्यजनले बेहुलाले जितेर बेहुली ल्याएको भन्ने खुसीयालीमा सेल रोटी, मासु, रक्सी र निगार सगुन १२ सगुन, निगार, पानी, दूधको सगुन, बत्ती समेत राखेर तोकिएको साईतमा राति लगन गरी आमा बाबु, मामासहित घर गाउँले दाजुभाइहरू नाता कुटुम्बले टीका लगाएर  सगुन दिन खाने गरेर पश्चात् बेहुला बेहुलीलाई नाता गोता चिनाउँदै ढोग भेट गराइन्छ । रात्रको भोज भतेर खाइन्छ । 

कुवा धारा पँधेरा चिनाउन: 

भोलिपल्ट बिहान बेहुलाको दिदी बहिनीले नयाँ बेहुलीलाई पानीको कुवा धारा पँधेरा चिनाउन लान गर्दछन् । त्यसपछि नयाँ बेहुलीले पँधेराबाट पानी ल्याएर घरका आफूभन्दा माथिको सासु ससुरा जेठाजु जेठानी मामा माइजूहरू तथा मान्यजनलाई हात धुन पानीहाली दिनु पर्दछ। त्यसपछि बेहुलीले बिहानको खाजा र खाना पकाएर घरका सबै परिवारलाई खान दिएर  आफु पनि  खाने चलन छ।

दुरन फर्किने:  

तामाङ रित अनुसारको सगुन लिएर बेहुला बेहुली माईतीको घरमा दुरन फर्काउ जानु पर्दछ । सोही दिन माईती घरबाट बेहुलाको घरमा फर्केर आउने चलन छ ।​​​​​​​

पाईला मेटाने चलन: 

विवाह भएको तेस्रो दिनमा बेहुलीको जन्म घरमा पाइला मेटाउन जानु पर्दछ । माइती घरबाट छोरी ज्वाँई घर फर्के तेस्रो दिनमा पहिले माइती आउँदा जाँदाको पाइला मेटाउन केही सगुन,रोटी, रक्सी एउटा कुखुराको भाले लिएर फेरी माइती आउने चलन रहेकोछ । यस कार्यक्रमलाई छोरीको माइतीघरमा पाइला मेटाउने भनिन्छ । पाइला मेटाउने काम पूरा गरेपछि विवाह सकिन्छ ।

सम्धी सम्धिनी भेटघाट: 

बेहुलाको आमा बाबु वेहुलीपट्टीका आमा बाबुसँग सम्धी सम्धिनी भेटघाटमा जाने चलन छ । लुगाफाटो र केही सगुन लिएर जानु पर्दछ । चौथो दिनमा बेहुलीको आमा बाबु वेहुलपट्टीको आमा बाबुसँग सम्धी सम्धिनी भेटघाट गर्न छोरीको घरमा आउने चलन छ । लुगाफाटो र केही सगुन लिएर जाने गरिन्छ ।  माथि उल्लेखित  रिमठिम अथवा रीतिरिवाज  तामाङको मागी विवाहमा गर्ने गरिन्छ ।

चोरी विवाहमा गरिने रिति:

तामाङ जातिहरूमा मागी  र चोरी दुई किसिमका विवाह हुन्छन् । आफ्नो राजी खुसीले केटा केटी मिली भागेर जाने चलनलाई चोरी विवाह भनिन्छ । यस चोरी विवाहलाई सामाजिक मान्यता दिनको लागि केटी भागेर गएको तीन दिनपछि केटापट्टीको घरगाउँले केटीको माइती घरमा एउटा कुखुराको भाले,एक बोतल सगुन रक्सी लिएर तपाईंको छोरी चेली कहि कतै गएको छैन । हाम्रो जिम्मा सुरक्षित छ भन्दै सगुन दिन आउने चलन छ । यसरी केटा र केटी दुवै पक्षको आपसी सहमतिमा पछि ब्रेल्सङ गर्ने तिथिमिति ठेगान (टुङ्गो) गर्नलाई केटाको घरबाट एउटा कुखुराको भाले,एक बोतल सगुन रक्सी लिएर केटी माइतीघरमा जाने चलन छ ।

यसरी भागेर जाने केटा केटीको विवाहमा परिवर्तन गर्न तामाङको रिमठिम पेठीम पूरा गरी  विवाह गर्न  चार दाम आठदाम र घासा गरी विवाह सम्पन्न गर्ने चलन छ ।

भागेर आएका केटा केटीको तत्कालै विवाह गर्न सक्ने अवस्था नभएको अवस्थामा केटापट्टीकाले जहिले सक्छ त्यहि बेला चारदाम आठदाम, घासा गर्दा पनि हुन्छ । 

यस्तो चलन शंखरापुर नगरपालिका वडा नं १ देखि वडा नं ९ सम्म छ भने अरू गाउँमा यो चलन फरक रहेको छ भने ठाउँ अनुसार यो चलन फरक-फरक रहेको पाइन्छ । 

हाम्रो पूर्खा बाजे बराजुको भनाइ अनुसार चोरी विवाह गर्ने बाबु आमाको रित बमोजिम चार दाम आठ दाम र घासा नगरेसम्म उनका छोरा छोरीको गुन्यु चोली, व्रतबन्ध,विवाह गर्नु हुँदैन भन्ने चलन तामाङहरूमा कायम रहेको देखिन्छ ।

कुल पूजासम्बन्धी 

​​​​​कुल पूजाको मूल गुरु स्व. बावु खडके थिङ हो । सल्लाहकार रूपबहादुद थिङ नुवाकोट २ नं मा 

भिमबहादुद थिङ, लापतावा बोम्बो (ला बोन)​​​​​​​

थिङ्गको कुल परम्परा :

शुरूको बाजे / गुरूलाई च्यापचुप भनिन्छ । थिङको कुलदेवता "ङिमि मेवा चङरी ग्यिल्हा ज्योहो'' हुन । तिब्बतको यालुङ सोक्पा प्रान्तको बासिन्दाहरू कालान्तरमा थिङ्ग भएको भन्ने भनाई छ ।​​​​​​​

कुलदेवता तेन्पइ न्हेमा ज्याङसर:

हाम्रो परम्परा अनुसार जिजु बाजेले देउता मान्ने चलन छ । तेन्पइ न्हेमा ज्याङसरलाई कुलदेवता भनिन्छ भने छोटकरीमा "लैतिङतो ला'' भन्दछ । तेन्पई ज्याङसर भनेको उत्तर, लैतिङतो ला भनेको मुटु / मनले मानेको देवता हो । कुलदेवताको नाम तेन्पइ न्हेमा ज्याङसार हो । आँखाले नदेखेको मनले मानेको देवता हो । कुल देवताको विधिपूर्वक पूजाआजा गर्दा धामी झाँक्रीद्वारा ढ्याङ्ग्रो बजाई रातभर पूजा गर्नुपर्दछ। 

छ महिना अघिदेखि मूल पुजारीले खान नहुने:

१. ६ महिना अघिदेखि मूल बोन्बो लापतावाले लसुन, सुगुर, बंगुर, गोरू र भैँसीको मासु खान हुँदैन । 

२.कुल देवता कुल देवताको पूजा गर्ने चलन हाम्रो निकै कठिन छ । जिजु बाजेको पालामा ७ दिनसम्म कुल पूजा गर्ने चलन थियो । यो चलन थिङ्गको पूर्खेली थलो नुवाकोट जिल्लाको ठाडे बोलगाङमा अझै सात दिनसम्म कुल पूजा चलन कायम रहेको देखिन्छ । कुल पूजा गर्नु भन्दा ६ महिना अघि भाद्र महिनामा सगुन तितेपाती लगेर पोखरी/खोलामा  छेकेर असला माछा पाल्नु पर्थ्यो । कुलदेवताको पूजा  नहुजेल त्यो माछा कसैलेपनि मार्न र खान मिल्दैन/पाउदैनन् । 

३. कुलदेवताको पूजामा नभै नहुने अमिलो ज्यामिर हो । जहाँ ज्यामिर छ त्यस ठाउँमा गइ सगुन लगी पूजा गरेर ठेगान गरिन्छ । ठेगान गरिसकेपछि त्यो ज्यामिर जबसम्म कुल देवतालाई ल्याएर चढाईदैन तबसम्म अरूले टिपेर खान मिल्दैन । कुलदेवताको पूजाचढाए पछि मात्र सबैको खान मिल्दछ । 

४. थिङ्गको कुलपूजामा चढाउने जिजु बाजेको पालामा पहिले जङ्गलमा सानो चरा जातमा प्रिपचिल नामक चरा भन्दछ त्यो पाउँथ्यो । अहिले त्यो पाउँदैन। 

त्यसको सट्टामा जङ्गलमा ज्वाँईले शिकारी कुकुर लगी कालिज र मृग मारेर ल्याएर  जङ्गलमा कालिज र मृग जङ्गलको बिच बाटोमा भुईँमा राखी दिन्छ । कुलका धामीझाँक्रीले धामीझाँक्रीको पहिरन लगाएर परम्परागत विधि विधान अनुसार धामीले कुकुर लगेर छुवाएपछि कुकुरले मारेको भन्ने मानी शिकार ल्याएर कुलदेवतालाई चढाउने गरिन्छ।

५. कुनै पनि तामाङ जातिको पूजामा अनिवार्यरुपमा देवतालालाई चढाउनु पर्ने मुख्य कुरा कोको मेन्दो (टोटेला) को फूल टिप्न सगुन सहित  लगेर ठेगान गरेर आएपछि कुल देवतालालाई चढाई सकेपछि मात्र अरू देवतालाई टोटेलाको फूल चढाउन मिल्छ ।​​​​​​​

टोटेलाको बिउसहितको (टोटेलाको फललागेपछि खुकुरीको दाप जस्तो लामो चेप्टो एक प्रकारको कोषा भित्र बिंयामा) सेतो फुल हो । टोटेलालाई हाम्रो तामाङ भाषामा कोको मिन्दो भन्दछन्। यस टोटेटालाई फुडेर बिउसहित फूल निस्कन्छ, धागोमा त्यो फूल उनेर फूलका बिचमा  ज्यामिरका दाना राखी लामो माला बनाउने गरिन्छ । त्यो माला देउतालाई  चढाउने गरिन्छ ।

६. पूजाको ७ दिन अघि घर चोख्याउन घर लिपपोत गर्नुपर्छ। ७ दिन अघि पूजा सामग्री तयार गर्ने महिला पुरुषले नुहाई धुवाई गरेर शुद्ध हुनु पर्छ।

 ७ दिन पहिलेदेखि कुल पूजाको तयारी यसरी गरिन्छ -

१. बुधवार पहिलो दिनमा पूजा सामग्री तयार गर्ने महिला पुरुषले नुहाई धुवाई गरेर  घर लिप पोत गर्ने र कमेरो(सेतो),गेरूवा रंग, रातो माटोले घर छ्यापेर शुद्ध गर्नुपर्छ ।

२. बिहीबार दोस्रो दिनमा जाँडको लागि कोदो उसिनेर मर्चा हाली डालोमा जाँड हालेर राखिन्छ।  

३. शुक्रवार तेस्रो दिनमा मृग,कालिज शिकार गर्न, माछा मार्न तथा ज्यामिर टिप्न, प्रिपचिल ला नामे खोज्न ज्वाँई र दाजुभाइहरू जान्छन् ।  ​​​​​​​

थिङ्ग तामाङको कुल पूजामा खुट्टाले चलाउने ढिकीमा कुटेको  चामल चढाउन हुदैन । त्यसैले घरमा बस्नेले  एक जनाले अरूसँग  नबोली कुल पूजाका लागि धान बिस्कुन सुकाउने र हाते ओखलमा चामल  कुट्नु पर्छ । त्यसैले एकलैले चामल निफनी / केलाई चामलको भात पकाई मर्चा मोली जाँड हालेर देउता थानमा राख्नुपर्छ । जाँड हालिसकेपछि मात्र बोल्न पाइन्छ । त्यो चामलको भात २ भाग गरेर २ वटा घैँटोमा हाल्नु पर्दछ र दुई वटा देवतालाई चढाउने लागि राख्नु पर्छ भन्ने गरिन्छ। त्यो जाड हालिनसकुन्जेलसम्म शिकार लिएर बोम्बो,लापतावा, दाजुभाइ र ज्वाँईहरू घरभित्र पस्नु हुँदैन। 

देवता  बोलाने:

तेस्रो दिन पूजाको लागि ल्याइएका सामानहरू सिँगारेर मिलाएर राखिन्छ । लाता (देवता)लाई साङ सेरकेम लसी ला झ्योनौ स्युको( कुल देवतालालाई आउनुहोस्) भनी बोलाई दण्डवत् गरिन्छ ।

४. शनिवार चौथो दिनमा बाहिर लगेर टोटेलाको फूल(कोसा भित्रको बीज सहितको सेतो फूल) को माला उन्ने गरिन्छ ।  कालिज सफा गर्ने गरिन्छ।

 २५ पाथी चामलको भात पकाएर जान्ने लापताबाहरूले देवताको आकार बनाएर सोल्मो बनाउनु पर्छ । सोल्मो बनाउँदा आफ्नो परम्परा अनुसार देवताको आर्कीति दिई सोल्मो (मूर्ति) बनाउनुपर्छ  ।

५. आइतबार पाँचौ दिनमा पूरै दिन कुलको पूजा पाठ गरिन्छ। 

६. सोमबार छैटौँ दिनमा म्येन पूजा गर्ने गरिन्छ । 

७. मंगलवार सातौँ दिनको बिहान मङ प्याङबा (घरबाट भूत फालेको) फिरक्याप भोरबा (बाहिर बाटो)  फाल्ने गरिन्छ । धामी झाँक्री, दाजुभाइहरू सबै जना घर फर्केर प्रसाद र खाना खाए पछि कुल पूज सम्पन्न हुन्छ।

८. थिङ्गको कुल पूजा ७ दिन, ३ दिन र एक दिनमा गर्ने गरिन्छ । ३ दिन र सात दिनको कुल पूजा गर्न लवाला सोबा सोल्ज्यो दोन्बा (ठूलो देवताको मान गरेको ), पूजा विधि फरक हुन्छ र पूजा सामाग्री धेरै चाहिन्छ।

आह्वान गर्ने:

छ्याङ्ग पकाएर चढाउने, कुलदेवतालाई हाम्रो घरमा आएर बस्नु,हाम्रो घरगाउँ समाजमा कुनै पनि किसिमको दुःख बिमार, कुनैपनि रोग व्याधि नलागोस् भनी चोखो नीतो गरेर देउतालाई आह्वान गरेर कुल पूजा गर्ने गरिन्छ।

क्षमा यचना: ​​​​​​​

परम्परागतरूपमा पूर्खेली प्रचलन अनुसार कुल पूजा सम्पन्न गरेपछि पूजा गर्दा नजानेर कुनै किसिमको विधि  नपुगेमा उचनिच भएमा कुल देवतासँग क्षमा माग्दै देवतालालाई चढाएका प्रसादका रूपमा सबै जनालाई जाँड बाँडेर खाने गरिन्छ ।

कुल पूजा गर्ने मान्छेलाई  गर्न नहुने भनी निषेधित कुरा:

मूल बोम्बो, साथीहरू कुल पूजासम्बन्धी काममा लाग्ने सबै जना ला थन्बा कुल देवता पूजा गरेको घरको जाँड पकाउनेले ७ दिनसम्म श्रीमतीसँग सुत्न हुँदैन र लसुन, बंगुर, राँगा भैँसीको मासु केही खानु हुँदैन ।

कुलपूजाको समयमा पूजा गर्ने घरबाट ७ दिनसम्म कसैलाई आगो, पानी, सरसापटी,कुनै सरसामान र चिज वस्तु दिन/ निकाल्न हुँदैन। यसरी नै रूख काटन, बारी जमिन खन्न, जोत्न हुँदैन र यस अवधिमा कुनै किसिमको काट मार समेत गर्न मिल्दैन / गर्न हुँदैन ।​​​​​​​

कुलपूजा गर्ने समय 

नुवाकोट जिल्लाको ठाडे बोलगाङमा प्रत्येक वर्ष फाल्गुन शुक्ल पूर्णिमा गरिन्छ भने अन्य स्थानमा प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमामा कुल पूजा गर्ने प्रचलन छ । यसरी कुल पूजा गर्दा पूर्णिमाको २ दिन अघि र वा पूर्णेको पंचमीसम्म कुल पूजा गरिन्छ।  कुल पूजाका बेलामा मान्छे मरेमा  पूजा रोकिन्छ। मृत्युसंस्कारको घेवा गरी सकिएपछि कुल पूजा गर्ने गरिन्छ ।

कुलपूजा रोकिने अवस्था 

कुलपूजा गर्ने वंश सन्तान भित्र कोही मरेमा घेवा नगरेसम्म कुल पूजा गर्न रोकिन्छ । यसरी रोकिएको कुल पूजा घेवा सकिएपछि धामी झाँक्रीले साहित हेरेर  फेरी कुल पूजा गर्ने गरिन्छ ।

माथि उल्लेख भए बमोजिम  भोट केरूङबाट आएका थिङ्ग तामाङका पूर्खाहरुका सन्तान  सेरकी मण्डलसे नुवाकोट जिल्लाको ङार्छ्याबा ठाडे बोलगाङ, रसुवा स्याब्रु बेसी हुँदै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यकामा, मकवानपुर,बारा, पर्सा, सर्लाही लगायत तराईका विभिन्न जिल्लामा बसोबास रहेको देखिन्छ। यसरी हिमाल पहाड र तराईमा बस्ने थिङ्ग तामाङ दाजुभाइले आ-आफ्नो गाउँ गाउँमा चलेको प्रचलन अनुसार कुलपूजा गर्दै आएको देखिन्छ । कतिले पूर्खेली परम्पराको ज्ञान नभएकाले कुल देवताको पूजाअर्चना गर्न नसकेको अवस्था पनि पाइन्छ।

३ दिनको कुलपूजा गर्ने विधि -

क. शंखरापुर नगरपालिका वडा नं ८ घुमारचोक बस्ने थिङ्गज् बाजेहरुले कुल पूजा कार्तिक र चैत्र महिनाको पूर्णेदेखि पन्चमीसम्मा गर्ने गरेको पाइन्छ ।

ख. ला थान्बा च्योबा सोल्ज्यो दोन्पा गुरू अनुसार  र तामाङको थरै पिच्छे कुल पूजा गर्ने विधि (बुझाउने) तरिका फरक-फरक हुन्छ ।

थिङ्गले कुनै गाउँमा कुल पूजा गर्दा देवाता झुण्ड्याएर पूजा गर्ने चलन पाईन्छ। अरू कुनै गाउँ  ठाउँमा देवता झुण्ड्याएर पूजा गरिदैन । सिन्धुली जिल्लाको महादेवटार गाउँमा कुलपूजा लामाले गर्ने गर्दछन् भन्ने सुनिन्छ।

ग.हरेक सालको जनैई पूर्णेमाको एक दिन अघि राती तिमशिल्बा,जिजु बाजे (च्यापच्युप)को भएभरको माला, ढ्याङग्रो मकै, फलफूल राखी चोखिने गरिन्छ । मुख्य पृथ्वी आकाश, मान्छे सृष्टि गरेपछि देवताले  मान्छे वा प्राणीलाई बाच्न बचाउन बीउबिजन दिएको हुन् । देवतासँग मान्छे छुटिएर पृथ्वी (जमिन) मा आएको हो भन्ने गरिन्छ । देवताको सेवा गरेको इतिहास सबैले हेरेर देखिइएको मानिन्छ ।

तीन दिनमा कुल पूजा गर्दा निम्नलिखित विधि गरिन्छ-

१. कुल पूजा गर्नु ४,५ दिन अघि घर चोखो होस्, देवता आएर बस्नुहोस् र राम्रो शुद्ध होस् भनी तिम शिल्बा शिल्डुब गरिचोख्याउँछ।

 २. पहिलो दिनमा महिला पुरुषले नुहाउने र घर लिपपोत गर्ने, भित्तामा स्थानीय श्रोतको प्रयोग (कमेरो माटो, रातो माटो, गेरू माटो र चुन आदि) गरी  घरका भित्तामा छ्याप्ने वा देवता बसेको वा राखेको ठाउँको उत्तर भित्तामा छ्याप्ने गरिन्छ  । 

२. दोश्रो दिनमा नुहाएर ३ पाथी रातो मार्सी धान एक्लैले ओखल (यालाङरी) मा चामल कुट्ने केलाउने निफन र पकाएर मर्चा मोली नयाँ माटोको घैँटोमा जाड बनाई देवताको थानम राखेपछि मात्र बोल्न मिल्छ । बोल्न परेमा तामाङ भाषामा मात्र बोल्न मिल्छ अरू भाषामा बोल्न निषेध छ । 

३. तेश्रो दिनमा ज्वाँईले खोला, पोखरीमा गएर नुहाएर असला माछा ३,५ वटासम्म मारी ल्याउने गरिन्छ । 

४. बोम्बो धामीले विधि विधानले लमो कु, ज्योमो कु र ३२,३३ कोटी महादेवको धारा,कुवाको पानीलाई मन्त्रले दूध अमृत बनाएर  देवता बस्ने ठाउँमा चारै सुरमा छर्किने गरिन्छ ।

५. शिल्बा(शुद्ध) गर्ने:

गढुवा (करूवा)मा कुवाबाट चोखो पानी ल्याई काँचो धागोले बाँधेर हरलो (हर्रो) बरलो (बर्रो), तितेपाती हालेर काठको पिरामा राखिन्छ । त्यसमा बोम्बो धामीले लक्ष्यो दुप्सी  तन्त्र मन्त्र विद्याले पानीलाई दूध अमृत बनाएर घर चोख्याउने गरिन्छ। यसलाई शिल्बा (शुद्ध) गर्ने भनिन्छ ।  

६. ला थान्बा ( कुल देउता राख्ने)  को पूजा गर्नु १५ दिन पहिले बोम्बो झाँक्रीलाई सगुन लगेर स्युसी (नमस्कार, दण्डवत) गर्ने गर्नुपर्छ । गुरुहरूले मान्छे मरी चोख्याउदा शिल्डुब गर्दा पनि धामी झाँक्रीद्वारा त्यसरी नै गर्ने हो भन्दछन्।

 ७. पहिलो पूजा तल ढोकातिर फर्केर सबै देवताहरूलाई साङ  सेरकेम् गरिन्छ ।

भात खाएर चोखो गरी कुल देवतालाई चाहिने सामग्री तयार पारी माथि चुलोतिर फर्केर ढ्याङग्रो बजाएर पूजा शुरू हुन्छ । यो पूजा गर्न रातभरी लाग्दछ ।

कुलपूजा गर्न निम्नलिखित  सामानहरू पूजा गर्ने ठाउँमा चाहिन्छ -

१. छ्याङतेर(काठको पिर) १ राखिन्छ, त्यसमाथि एउटा चरेशको थालमा अक्षता र भेटी राखिन्छ।

२.बत्ती बालेर मानामा मकै हाली कोको मेन्दोको फूलबाट बनाएको छेने, फुर्बा धुर्बी  राखिन्छ । 

३. माछा उसिनेर ३ वटा वा ५ वटा चरेश (कांस)को बटुकमा हालेर राखिन्छ ।

४. सानो करस्याल पौङ (कलश वा घडा )मा देवतालालाई पूजाका लागि बनाइएको जाँड हाली  को को मेन्दो मुख र पेटमा घ्यान्सी (राख्ने) गरिन्छ ।

२ वटा चरेशको थालमा प्रत्येकमा २/२ माना चामल राखेर को को मेन्दको ९/९ वटा कोठा बनाउनु पर्छ माथि झुण्ड्याउनेमा सुन र चाँदीको टुक्रा ५० पैसाको सेतो मोहर हाल्नुपर्छ। 

बोम्बो धामी झाँक्रीले विधिपूर्वक पूजा गरी मूल झाँक्री र ज्वाँई माथि पूजा कोठा (थान)मा जानुपर्दछ । भुईहबसेको झाँक्रीको साथीले थालमा राखेर देवाता लग्ने घर भित्रको प्वालबाट घरको माथि धुरीमा राख्न दिइन्छ र मूल झाँक्री र ज्वाँईले देवतालालाई झुण्ड्याउने  चलन छ । देवता झुण्ड्याएर राखी सकेपछि बोम्बो झाँक्री ज्वाँई दुवै तल आएर माछा टुक्रा टुक्रा गरी बाँकी थालमा राखेको नौ वटा कोठा मण्डलमा को को मेन्दो भएको बत्ती छेने माना दुच्छे सगुन पोङ सात जनाले हातमा उचाली बोम्बोले ढ्याङग्रो बजाउने पूजा सामग्री उचालेर फलाक्दै '' हे तिङकी ला त सोल्ज्यो सङकेले तेन्वाइ लाय, दोन्छीजिन्छी(सकेर) भनी स्तुती गर्ने गरिन्छ । त्योइ (गुन्द्री) मा मूल झाँक्री सुत्नु पर्छ । भोलिपल्ट दिउँसो ३.३० बजे भित्री गोप्य मन्त्रले धूतम् प्रि फ्रन्सी गरी घर आउने गरिन्छ ।

मृत्यु संस्कार:

लामाले मृत्यु संस्कार गर्दा मान्छे मरेको १३ दिनपछि शुद्ध्याइ गर्न घेवा थाल्ने बिहान ४.०० बजेदेखि ५.०० बजेसम्म कोही कसैलाई पनि बिरामी,अशान्ति, नराम्रो नरहोस् भनेर शान्ति कामना गर्दै बोम्बो, झाँक्रीले पूजा गर्दछन् । 

मान्छे मरेको शुद्धी  गर्न २१,२२,२३,२४ दिनमा ३ घेवा गरिसकिन्छ । औँसी कृष्ण पक्षमा घेवा गरिँदै ।  देउताको पूजा गर्न बिहीबार र पूर्णिपक्षमा राम्रो मानिन्छ। लामाले मृत्यु शुद्धीकरण गर्ने काम मात्र गर्दछन् भने धामीझाँक्रीले देउताको पूजा गर्ने काम गर्दछ्न्।​​​​​​​​​​​​​​

नेपाल बहुजातीय बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक र धार्मिक सहिष्णुताले ओतप्रोत भएको मुलुक हो । हाम्रो प्राचीन सभ्यतादेखिनै नेपाल वैदिक सनातन कालदेखि हिमवत्खण्डमा आफ्नो धार्मिक र सांस्कृतिक महत्वको भएको मुलुकमा कुनै धार्मिक सम्प्रदायबिच कसैले कसैलाई पनि आपसी मतभेद रहित मेलमिलापको संस्कारद्वारा उन्ययन भएको देखिन्छ । नेपालमा कुनै पनि धार्मिक मतालमविबिच द्वन्द्व भएको देखिँदैन । लिच्छविकालमा वैदिक सनातन धर्म र बौद्ध धर्मको सहिष्णुताको कारणले बुद्ध धर्मको प्रवर्द्धन एशिया महाद्वीपमा फैलिएको कुरा इतिहासमा लुकेको छैन । 

त्यसैले हामी नेपाली जातिको कोहीले आफनो मुलुक भित्रका सबै जातजातिका कुल परम्परा र जाती अस्तित्वमा संरक्षण गर्दै हाम्रो मुलुक नेपाललाई विश्वकै नमुना सांस्कृतिक सम्पदा भएको मुलुका रूपमा चिनारी गराउनु हामी नेपाली साझा कर्तव्य हुन आउँछ । जहाँ बसे रहेको भएपनि सबैको धर्म संस्कृति र संस्कार संस्कृतिलाई जगेर्णा गर्नु नै हाम्रो परम् दायित्व हो । यही तथ्यलाई मनन गरी सबै जातजातिका परिचय र कुल परम्पराको विषय खोजविन गरेर प्रकाशमा कोशिस गरिएको हुँदा सबैले आ-आफ्नो जातजातिको संक्षिप्त परिचय र स्थानीयस्तरमा के कसरी कुल परम्परा चलिरहेको छ भावी सन्तानहरूले जानकारी राख्न सहयोग पुगो भनी प्रस्तुत गरिएको छ । कुनै किसिमले गाउँ ठाउँ अनुसार प्रचलन रहेको तथ्य फरक पर्न गएको छ भने वास्तविक तथ्य उपलब्ध गराई परिमार्जित गर्न गराउनु हुन अनुरोध गर्दछौं । प्राप्त तथ्यहरूलाई समावेश गरी परिमार्जन गरिने कुरा अनुरोध गर्दछौं । 

(रचनात्मक सुझावको लागि सादर अनुरोध)

तामाङ जातिको एक थर थिङ्गको संक्षिप्त परिचय र कुलाचाड संस्कारको विविध पक्षमा काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका वडा नं ८ बस्ने कुल देवताको मूल पुजारी "लापतावा बोम्बो (ला बोन) भिमबहादुर थिङ्गको सहयोगमा आलेख तयार गरी सबैको जानकारीका लागि प्रस्तुत गरिन्छ । यस यथार्थ परक थप तथ्य जानकारी राख्ने विज्ञहरूबाट रचनात्मक सुझावको लागि यही स्तम्भमा र भिमबहादुर थिङ्गको फोन नं ९८६०३६५२३१ मा सुझाव उपलब्ध गराउन सम्बन्धित विज्ञहरू सबैमा हार्दिक अनुरोध गर्दछौं ।

​​​​​​​प्रस्तुतकर्ता: चण्डी कार्की